थाई एयर एशिया बैंकक–काठमाडौं उडान शुरु गर्ने तयारीमा |
काठमाडौं । एयर एशिया ग्रुपअन्तर्गतको वायु सेवा प्रदायक कम्पनी थाई एयर एशियाले बैंकक–काठमाडौँ गन्तव्यमा उडान शुरु गर्ने तयारी गरेको छ ।
थाई एयर एशियाले नेपाल उडान अनुमतिका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण समक्ष निवेदन दिएको हो । बैंककबाट–त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सिधा उडान गर्ने इच्छा जनाउँदै थाई एयर एशियाले हालै निवेदन दिएको र सम्पूर्ण कागजातबारे अध्ययन भइरहेको प्राधिकरणका एक उच्च अधिकारीले जानकारी दिए ।
थाइल्याण्डको राष्ट्रिय ध्वजाबाहक थाई एयरवेज र निजी क्षेत्रको थाई लाइन एयरले बैंककबाट–काठमाडौँ गन्तव्यमा सातामा समान सात उडान गर्दै आएका छन्। नेपालबाट राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले बैंकक सातमा तीन उडान गर्दै आएको छ । अहिले नेपाल आउन चाहेको थाई एयर एशिया पनि निजी क्षेत्रको संयुक्त लगानीको कम्पनी रहेको छ । बैंकक मुख्यालय रहेको यो कम्पनी मलेसियाको एयर एशियासँग ‘ज्वाइन्ट भेन्चर’ को रुपमा रहेको छ ।
यसको एयर एशिया एक्ससँगको सम्बन्धका बारेमा नेपालले अध्ययन गरिरहेको छ । एयर एशियाले क्यानलाई करोडौँ बक्यौता नतिरी काठमाडौँ उडान केही महीना अगाडि बन्द गरेको थियो । प्राधिकरणको व्यवस्था बमोजिम नयाँ वायु सेवा प्रदायक कम्पनीले उडान अनुमतिका लागि बुझाउनुपर्ने सम्पूर्ण कागजात विस्तृत अध्ययन गरेपछि मात्र प्राधिकरणले उडान अनुमति दिन्छ । थाई एयर एशियाको मलेसियाको एयर एशिया एक्ससँगको सम्बन्ध भए नभएको पनि अध्ययन भइरहेको क्यानले जनाएको छ ।
यदि उक्त कम्पनीसँगको संयुक्त लगानी रहेमा एयर एशियाको बाँकी बक्यौता तिरिदिने सम्झौता भएको खण्डमा थाई एयर एशियालाई उडान अनुमति दिन सकिने क्यानले जनाएको छ । त्यतिमात्र नभई थाई एयर एशियाको सञ्चालन, व्यवस्थापन सुरक्षा र नेपालको कानूनसँग सञ्चालन योग्य हुन्छ की हुँदैन यो सबै हेरेर मात्र उडान अनुमति पाउनेछ । कम्पनीका कागजात नेपाली पाइलट र इञ्जिनियरले अध्ययन गरेर उडान योग्य भएको सिफारिस गरेपछि मात्र प्राधिकरणले अनुमति दिने बताइएको छ ।