मकवानपूरको थाहा–२ फाँटबजारमा असार १९ देखि २५ सम्म महायज्ञ हुँदै |
काठमाडौं । उत्तरी मकवानपूरको थाहा नगरपालीका वडा नं २ फाँटबजार अबस्थित मत्स्यनारायण माध्यमिक विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन तथा पाथीभरा लक्ष्मेश्वरी मन्दिर परिसर धार्मिक पर्यटकीय स्थल निर्माणको लागि श्रीमद् भागवत पितृमोक्ष धनधान्याञ्चल सप्ताह बिराट ज्ञानमहायज्ञ लगाउने भएको छ । विद्यालय र पाथीभरा क्षेत्र बिकास समितिको संयुक्त आयोजनामा उक्त सप्ताह बिराट ज्ञानमहायज्ञ हुने भएको हो ।
विद्यालयका प्रधान अध्यापक विष्णुहरी ढकालकाअनुसार मत्स्यनारायण मा.विमा कक्षा ११ र १२ का साथै प्राबिधिक शिक्षा सञ्चालन गर्न महायज्ञ लगाउन लागेको हो । कुशल, सुयोग्य, नैतिकवान नागरिक उत्पादन गरि आत्मनिर्भर बन्न प्रेरित गर्न, सामाजिक परिवर्तनको दिशामा दक्ष जनशक्ति उत्पादन गरि समृद्ध राष्ट्र निर्माणमा सहयोग पुर्याउन एवम् पितृ मोक्षको लागि महायज्ञको आयोजना गर्न लागिएको महायज्ञ आयोजक मुल समितिका संयोजक नवराज विष्टको भनाइ छ । साथै, स्थानिय स्तरमा लामो समयदेखि जिर्ण अवस्थामा रहेको पाथीभरा लक्ष्मेश्वरी मन्दिर परिसरलाई धार्मिक पर्यटकिय स्थलको रुपमा विकास गर्न, प्राचिन कला, सँस्कृतीको संरक्षण तथा सम्वद्र्धन गर्न समेत संयुक्त रूपमा महायज्ञ गर्न थालेको पाथीभरा क्षेत्रविकास समितीका अध्यक्ष मात्रव कार्कीले बताए ।
२०७६ असार १९ गते देखि २५ गते सम्म सञ्चालन हुने महायज्ञमा बालब्यास पं. श्री नारायण न्यौपानेको मुखार विन्दबाट कथा वाचन हुनेछ । महमयज्ञ मत्स्यनारायण माध्यमिक विद्यालयको प्राङग्रणमा सञ्चालन हुनेछ ।
महायज्ञमा १ हजार १ सय ११ओटा शालिग्राम दर्शन गर्न सकिने छ । साथै, आयेजकका अनुसार नगद दान, महादन, जिन्सीदान, संगीतमय श्रीमद्भागवत कथा प्रवचन, कलश यात्रा, तुलादान, जेष्ठ नागरिक सम्मान, कन्या पुजन, चौरासी पुजा, सामुहिक बर्तबन्ध, ग्रहशान्ती, लाखबत्ती, योगसिबिर तथा राष्ट्रिय कलाकारहरुबाट संगितमय भजन किर्तन लगायतका कार्यक्रमहरु सञ्चालन गरिने छ ।