चालु आव भित्रै ब्रोकरलाई मार्जिन ल्याण्डिङको सुविधा, एक अर्ब रुपैयाँ बजारमा आउने |
काठमाडौं । चालु आर्थिक वर्ष भित्रै मार्जिन ल्याण्डिङ सेवा शुरु हुने भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बिहिबार मार्जिन कारोबार सेवा अनुमतिपत्र दिएको छ ।
सो कार्यक्रमुमा नेपाल स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाटले चालु आर्थिक वर्ष भित्रै मार्जिन सेवा शुरु हुने बताए । मार्जिन कारोबारको लाइसेन्स पायौं। अब चालु आर्थिक वर्षबाटै सेवा सुरु गर्छौ, रानाभाटले भने ।
केही समयदेखि सुस्ताएको बजारलाई चलायमान गराउने उनले दाबी गरे। रानाभाटका अनुसार १० वटा मात्रै ब्रोकर कम्पनीले मार्जिन सेवा दिँदा बजारमा एक अर्ब रुपैयाँ आउने नेपाल स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाटले बताए । एक ब्रोकर कम्पनीले १० करोड रुपैयाँ बजारमा प्रवाह गर्न सक्छन्। ब्याजदरको हकमा बैक वित्तीय संस्थाले उपलब्ध गराएको ऋणकै अनुपातमा व्याज निर्धारण हुने उनले बताए ।
मार्जिन प्रवृत्तिको लोन वास्तविक रूपमा मार्जिन ल्याण्डिङु नभएको भन्दै औपचारिक रूपमा अब ब्रोकर कम्पनीहरूले उपलब्ध गराउने ऋणनै मार्जिन ल्याण्डिङ हुने छ । नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले सबैले मार्जिन सेवा नपाउने बताए । उनले ब्रोकर र लगानीकर्ताबीचको कारोबार हुने बताउँदै भने, ‘ब्रोकर कम्पनीले ऋण दिँदा जुन लगानीकर्ताले प्रकृया पुर्याएका छन् उनैलाई मात्रै ब्रोकर कम्पनीले ऋण दिन्छन् ।’
बिहीबार नेप्सेले आठ ब्रोकर कम्पनीलाई मार्जिन कारोबार शुरु गर्न अनुमति पत्र दिएको छ । अनुमति पत्र पाउनेमा क्रिस्टल कञ्चनजंगा सेक्युरिटिज, सेक्वर्ड सेक्युरिटिज, श्री कृष्ण सेक्युरिटिज र भिजन सेक्युरिटिज छन्।नेपाल स्टक हाउस, प्राइम सेक्युरिटिज, कोहिनुर सेक्युरिटिज र दीपशिखा सेक्युरिटिजले पनि मार्जिन कारोबारको अनुमति पाए ।
बिहिबारनै आर्यतार सेक्यूरिटिजले समेत सबै प्रक्रिया पुर्याएको छ । यो कम्पनीले आइतबार अनुमति पाउनेछ । नेप्सेका अनुसार सुमेरु सेक्यूरिटिज, डाइनामिक मनि म्यनेजर्स, इम्पेरियल सेक्यूरिटिज, अनलाइन सेक्यूरिटिज, नासा सेक्यूरिटिज, दिव्या सेक्यूरिटिज, प्रिमियर सेक्यूरिटिज, एसिएन सेक्यूरिटिज, श्वेता सेक्यूरिटिज र प्रज्ञान सेक्यूरिटिज अनुमतिपत्र पाउने पाइप लाइनमा छन् ।