दैलेखमा पेट्रोलियम अन्वेषण आजबाट, चिनियाँ टोली नेपालमा |
काठमाडौं । चीनले नेपालमा पहिलोपटक पेट्रोलियम पदार्थ अन्वेषणको काम शुरु गर्ने भएको छ । यसका लागि झण्डै डेढ दर्जन चिनियाँ विज्ञ र प्राविधिक नेपाल आइसकेका छन् ।
खानी तथा भूगर्भ विभागका प्राविधिकसहित चाइना जियोलोजिकल सर्भेको टोलीले आज शुक्रबार दैलेख पुगेर पेट्रोलियम अन्वेषण शुरु गर्न लागेको हो । तीनवटा फरक–फरक टोली बनाएर विभिन्न स्थानमा अन्वेषणको काम थालिने खानी तथा भूगर्भ विभागले जानकारी दिएको छ ।
‘नेपाल–चाइना पेट्रोलियम ग्यास तथा तेल स्रोत सर्भे’का लागि गत फेब्रुअरी २८ मा भूगर्भ विभाग र चाइना जियोलोजिकल सर्भेबीच सम्झौता भएको थियो । यो सम्झौता अवधि तीन वर्षको छ । चीनको बिज्ञ टोलीले पहिलो चरण (१० महिना) मा तानसेन तथा दैलेख क्षेत्रमा भौगर्भिक तथा पेट्रेलियम सर्भेसहित दैलेखमा ड्रिलिङ साइट पहिचानको काम गर्ने छ ।
योजनाअनुसार दोश्रो चरण (११ देखि २८ महिना) मा दैलेख क्षेत्रमा ड्रिलिङ कार्य सम्पन्न गरिनेछ । तेश्रो चरणमा (२९ देखि ३६ महिना) मा नेपालमा समग्र पेट्रोलियम भौगर्भिक अवस्थावारे अध्ययन भई सर्भे प्रतिवेदन प्राप्त हुने विभागले जानकारी दिएको छ ।