कमोडिटी एक्सचेन्जका लागि छ वटा कम्पनीले हाले आवेदन |
काठमाडौं । कमोडिटी एक्सचेन्ज खोल्न ६ वटाले कम्पनीले आवेदन दिएका छन् । नेपाल धितोपत्र बोर्डले बुधवारसम्मका लागि आवेदन खुल्ला गरेको थियो ।
अन्तिम समयसम्ममा नेशनल कमोडिटी एण्ड डेरिभेटिभ एक्सचेन्ज, मल्टी डेरिभेटिभ एक्सचेन्ज, नेपाल डेरिभेटिभ एक्सचेन्ज, नेपाल मर्कन्टाइल एक्सचेन्ज, कमोडिटी फ्युचर एक्सचेन्ज र राइजल कमोडिटी एण्ड डेरिभेटिभ एक्सचेन्जले आवेदन हालेको बोर्डका प्रवक्ता निरज गिरीले जानकारी दिए । उनले आवेदनपछिका प्रकृया छिट्टै अघि बढ्ने बताउँदै आवश्यक कागजात हेर्ने जानकारी दिए । काजगपत्र पुरा गर्ने कम्पनीहरुलाई पनि मेरिटका आधारमा छनोट गर्ने बोर्डको योजना छ ।
कम्पनीको मेरिट हेर्दा एक्सचेन्जका सञ्चालक, रणनीतिक साझेदार, चुक्ता पूँजी, बस्तु बजारको क्षेत्र, स्वदेशी वा विदेशी बस्तुलाई दिने प्राथमिकता तथा व्यवसायिक योजना हेरिने गिरीले बताए । बोर्डले यस अघि पनि रद्ध गरिएका निवेदनलाई कारण सहित जानकारी दिएको थियो ।
नेपालकै लगानीकर्ता मात्रै रहेको भन्दा पनि रणनीति साझेदार भएका एक्सचेन्जलाई धेरै प्राथमिकता दिने बोर्डको धारणा छ । विदेशी कमोडिटी एक्सचेन्जको नाममा कतिपय कम्पनीले एक्सचेन्जको सहायक कम्पनीलाई रणनीतिक साझेदारको रुपमा भित्र्याउन खोजेका थिए । तर बोर्डले यस पटक वास्तविक एक्सचेन्ज कम्पनी भए∕नभएको प्रमाणित गरेर मात्रै अनुमति प्रदान गरिने बोर्डले जनाएको छ ।
यसअघि ५ वटा कम्पनीको मात्रै निवेदन परेको थियो । पाँच वटैलाई अनुमति दिन नसकिने भन्दै बोर्डले प्रकृयानै अघि बढाएन्। मापदण्ड नबनेकोले प्रकृया अघि नबढेको हो ।
बस्तु तथा विनिमय बजार ऐन आएपछि कम्पनी संचालनका लागि आवेदन मागेको थियो । यसअघि कमोडिटी फ्युचर एक्सचेन्ज, राइजल कमोडिटी डेरिभेटिभ एक्सचेन्ज, नेपाल मर्कन्टाइल एक्सचेन्ज, नेपाल कमोडिटी एक्सचेन्ज र मल्टी डेरिभेटिभ एक्सचेन्जले निवेदन दिएका थिए ।
बोर्डले नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक तथा नेपाल बैंक सञ्चालक सिमितिका अध्यक्ष वासुदेब अधिकारीको संयोजकत्वमा विज्ञ समिति गठन गरेको थियो । विज्ञ समितिले नेपालमा दुई वटा मात्रै एक्सचेन्ज उपयुक्त हुने सुझाव दिएको थियो ।
समितिको सुझाव सँगै बोर्डले यसअघिको सम्पूर्ण निवेदनलाई खारेज गर्दै पुनː निवेदन दिन आह्वान गरेको थियो । बोर्डले निवेदन माग गरेपनि पहिलाको भन्दा फरक ढाँचा तथा आवश्यक थप कागजजात मागेको छैन ।