थप चार वस्तुले गुणस्तर चिन्ह अनिवार्य लिनुपर्ने |
काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले चार वस्तुलाई ‘नेपाल गुणस्तर चिन्ह’ अनिवार्य गर्ने भएको छ ।
ग्याल्मानाइज्ड आइरन सिट (जस्तापाता), हेल्मेट, मल्टि स्ट्याण्ड केबल हाउस वाइरिङ तार, र एलपी ग्यासमा प्रयोग हुने रवर होज पाइपलाई एनएस चिन्ह अनिवार्य गराउने भएको हो ।
दैनिक जिवनमा यसको प्रयोग अत्यन्त बढेकोले यसलाई गुणस्तरीय र व्यवस्थित बनाउन एनएस चिन्ह अनिवार्य गराउन लागिएको बताइएको छ । २०४२ सालको मापदण्डलाई अहिलेको समय अनुसार परिवर्तन गरिएको विभागले जनाएको छ । पहिला जस्तापाता सामान्य घर छाउन मात्र प्रयोग हुन्थ्यो भने अहिले स्थायी, अस्थायी र दीर्घकालिन रुपमा लागि प्रयोग हुने भएकोले यसलाई अनिवार्य गरिएको विभागको भनाई छ ।
बजारमा पाइने अनेक थरिका ग्याँस पाइपहरु मुसाले खाने, ग्यास पड्किने लगायतका समस्या आएकोले ग्यास पाइपलाई पनि एनएस चिन्ह अनिवार्य गरिएको छ । विभागले हेल्मेटको मापदण्ड तयार पारिसकेको छ । त्यसैको आधारमा हेल्मेटलाई एनएसचिन्ह दिइने छ । त्यस्तै गुणस्तरीय तारको प्रयोगले विद्युत खपत कम हुने विभागले बताएको छ ।
विभागका अनुसार असार मसान्त सम्ममा यी वस्तुलाई एनएस चिन्ह अनिवार्य गराइने छ । यस अघि विभागले १२ वटा वस्तुमा एनएस चिन्ह अनिवार्य गराएको छ ।
ती ओपीसी–पीपीसी सिमेन्ट, एलपी ग्याँस सिलिण्डर, ड्राइसेल ब्याट्री, आइरनर बार, जी आई वायर, रेगुलेटर आदि हुन्।