पेट्रोलियम अन्वेषण गर्ने चिनियाँ टोली नेपालमा, खानी विभागका अधिकारीसँग छलफल गर्ने |
काठमाडौं । पेट्रोलियम अन्वेषण गर्ने चिनियाँ टोली नेपाल आइपुगेको छ । अन्वेषणको जिम्मा पाएको चाइना जिओलजिकल सर्भेको टोली शनिबार नेपाल आएको हो ।
टोलीले सोमबार खानी तथा भूगर्भ विभागसँग छलफल गर्ने कार्यक्रम रहेको छ । चीन सरकार प्राकृतिक स्रोत मन्त्रालयको स्वीकृति लिएर टोली नेपाल आएको हो । यो टोलीले अन्वेषण सम्बन्धी कुन स्थानमा ड्रिलिङ गर्ने लगायत काम शुरु गर्नेछ ।
भारतीय नाकाबन्दीका समयमा प्रधानमन्त्री केपी शर्मा ओलीले पेट्रोलियम अन्वेषणको जिम्मा चीनलाई दिएका थिए । दैलेखमा पेट्रोलियम पदार्थ खोज्न ४ किलोमिटर ड्रिल गर्नुपर्ने प्रारम्भिक अध्ययनले देखाएको छ। ड्रिल कुन स्थानमा गर्ने भन्ने विषय तय भएको छैन ।
चिनियाँ कम्पनीले सुर्खेत–दैलेख, बुटवल–पाल्पा र चतारा–बराहक्षेत्रको पेट्रोलियम खानीको विस्तृत अध्ययन गर्ने र कुनै एक खानीमा ड्रिलिङ गर्नेछ । विभागले गरेको अन्वेषणले दैलेखमा पेट्रोलियम पदार्थ रहेको प्रमाणित भैसकेको बताइएको छ । पेट्रोलियम पदार्थको परिमाण र व्यवसायिकताका बारेमा अध्ययन गर्नुपर्नेछ ।
नेपालमा यसअघि ५ वटा विदेशी कम्पनीले विभागबाट पेट्रोलियम अन्वेषणको अनुमति पाएर काम शुरु गरेका थिए । सोल ट्राइगन नेदरल्याण्ड, केयर इनर्जी स्कटल्याण्ड, टेक्साना रिसोर्सेस अमेरिका, बीबीबी च्याम्पियन्स अमेरिका र ईएबीजी कम्पनी युएईले पेट्रोलियम अन्वेषणको काम गरेपनि बिचमै काम छोडेका थिए
।