एनएमबी बैंकको सीईओमा गोविन्द घिमिरे नियुक्त

काठमाडौं । एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त भएका गोविन्द घिमिरेले बुधबारदेखि कार्यभार सम्हालेका छन् ।
तीन दशक भन्दा बढी बैंकिङ क्षेत्रको अनुभव हासिल गरेका उनी विगत १६ वर्षदेखि एनएमबी बैंकमा आबद्ध छन् । बैंकको विभिन्न विभाग तथा शाखा समेतको नेतृत्व गर्दै तीन दशक बैंकिङ क्षेत्रमा विताएका उनी यसअघि बैंकको नायव प्रमुख कार्यकारी अधिकृत थिए ।
बैंकका व्यापार, वित्त, क्रेडिट जोखिम व्यवस्थापन, रणनीतिक योजना निर्माण र सञ्चालन सुधारका कार्यहरूमा घिमिरेको विशेष योगदान रहँदै आएको छ । उनले एनएमबी बैंकको सञ्चालन प्रणालीमा सुधार ल्याउन, प्रविधिमा आधारित सेवा विस्तार गर्न र दिगो बैंकिङ अभ्यासलाई अघि बढाउन निरन्तर सक्रिय भूमिका निभाउँदै आएका छन् । उनको बैंकिङ अनुभवले एनएमबी बैंकलाई थप प्रगति र समृद्धिको मार्गमा अघि बढाउने विश्वास बैंकले लिएको छ ।
नवनियुक्त प्रमुख कार्यकारी अधिकृत घिमिरेले आफ्नो कार्यभार सम्हाल्दै भने, ‘मेरो प्राथमिकता नवप्रवर्तन, दिगो साझेदारी र समावेशी वित्तीय सेवामा केन्द्रित हुनेछ, जसले बैंकलाई अझ प्रभावशाली र अर्थपूर्ण बनाउनेछ । डिजिटल प्रविधि र नयाँ सोचको समावेशसँगै हामी ग्राहक, समुदाय र राष्ट्रसँग मिलेर दिगो र सकारात्मक परिवर्तन ल्याउने दिशामा अघि बढ्नेछौँ ।’
साथै, आजैका मितिबाट लागू हुने गरी बैंकका हालका नायब प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्यायले पनि वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हालेका छन् । स्वदेशी तथा विदेशी बैंकहरूमा कार्य गरिसकेका उपाध्याय अन्तर्राष्ट्रिय व्यापार तथा अन्तर्राष्ट्रिय सम्बन्धका साथै बैंकिङ व्यवसायमा गहिरो ज्ञान भएका बैंकर मानिन्छ ।