शेष घले र अमृत शाक्यको ८ अर्ब लगानीमा ‘स्वनिगः रिसोर्ट’ खुल्दै

काठमाडौं । नेपाली आतिथ्य सत्कार उद्योगमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) मा एउटा नयाँ रिसोर्ट सञ्चालनमा आउने भएको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएन) का पूर्वअध्यक्ष शेष घले र नेपाली होटल व्यवसायी अमृतरत्न शाक्यले ७ देखि ८ अर्ब रुपैयाँ लगानीमा भक्तपुर गुन्डुमा रिसोर्ट सञ्चालन गर्न लागेका हुन् ।
गुन्डुस्थित पाइलट बाबा आश्रमसँगै रहेको १ सय रोपनी जग्गामा उक्त रिसोर्ट निर्माण हुनेछ । रिसोर्ट आज सोमबार नयाँ वर्षका दिन शिलान्यास गरिएको छ ।
व्यवसायी घले र शाक्यको ५०/५० प्रतिशत लगानी हुने रिसोर्टमा ६० वटा भिल्ला निर्माण हुनेछ । लगानीकर्ताद्वयले सन् २०२७ नोभेम्बरभित्र रिसोर्ट निर्माण पूरा हुने अपेक्षा गरेका छन् ।
रिसोर्ट इम्प्लिमेन्टिङ एक्स्पर्ट्स ग्रुप (आईआईजी) ले एसएन्डजेजी होल्डिङ्स (अस्ट्रेलिया) सँगको संयुक्त लगानीमा निर्माण हुन लागेको हो ।
आईईजीको प्रतिनिधित्व अमृतरत्न शाक्य र सुवर्णकृष्ण श्रेष्ठले गरेका छन् भने एसएन्डजेजी एफडीआई कम्पनी हो । यसको नेतृत्व शेष घले र जुमना घलेले गर्छन् ।
‘छाटो समयमा केही काम गरेर फाइदा लिने व्यवसायी हामी होइनौं, दीर्घकालीन फाइदा हुने गरी काम गर्छौं । हामी जे बनाउँछौं, सबै यहीँ हुन्छ,’ शिलान्यास समारोहमा रिसोर्ट लगानीकर्ता घलेले भने, ‘यो अस्ट्रेलियाली लगानी हो । हामीले आधा–आधा लगानी गरेका छौं । एफडीआई अप्रुभल लिएर परियोजना बनाउन लागेका हौं । यो रिसोर्टमा ७ देखि ८ अर्ब रुपैयाँ लगानी हुनेछ ।’
उनका अनुसार गुणस्तरीय जमिनमा गुणस्तरीय पूर्वाधार बनाउनुपर्छ, नत्र यस्तो जमिनले न्याय पाउँदैन । यो रिसोर्टमा विदेशी ब्रान्डको सुविधासँगै सयौं रोजगारी सिर्जना हुनेछ ।
रिसोर्ट नेपाली ब्रान्ड ‘स्वनिगः’ नाममा सञ्चालनमा आउने छ । यसमा माइस, इभेन्ट, अन्तर्राष्ट्रिय सम्मेलन, डेस्टिनेसन वेडिङ हब, लाइभ संगीत प्रदर्शनस्थल, एम्पिथिएटर, योग, ध्यान, आत्यात्मिक साधना, रक क्लाइम्बिङ, हाइकिङ, साइक्लिङ जस्ता खेलकुद गतिविधि, खानपान, स्वाथ्य तथा मनोरञ्जनका लागि उत्कृष्ट गन्तव्यका रूपमा विकास हुने लगानीकर्ताको भनाइ छ ।
घलेका अनुसार एनआरएनहरूले वैदेशिक लगानी ल्याउनु नेपालका लागि सबैभन्दा राम्रो हो । विदेशीले लगानी गर्नु र नेपालीले नै नेपालमा लगानी गर्नु राम्रो हो । यसमा सामाजिक दायित्व र भावना जोडिएको हुन्छ ।
‘नेपालमा एफडीआई ल्याउन सरकारले पनि प्रोत्साहन गर्नुपर्छ । काठमाडौंमा हामीले निर्माण गरिरहेको पाँचतारे होटल शेराटन पनि एफडीआई नै हो,’ घलेले भने, ‘हामीले ल्याएको एफडीआईलाई सरकारले पनि गणना गरेको जस्तो लाग्दैन । शेराटनमा १५ करोड अमेरिकी डलर बराबर एफडीआई भएको छ ।’
कान्तिपथमा निर्माण भइरहेको पाँचतारे होटल शेराटनमा घलेले करिब २० अर्ब रुपैयाँ लगानी गरिसकेका छन् । उनको यो होटल यो सन् २०२५ को अन्तिमतिर सञ्चालनमा आउने जनाइएको छ ।
आईईजीको नेतृत्वकर्ता शाक्य र श्रेष्ठको समिट होटल, एयरपोर्ट होटल र निर्माणाधीन ओएसिस होटलमा लगानी रहेको छ ।