पेट्रोलियम पाइपलाइनको परिक्षण सफल, पाइपलाइनबाट पेट्रोलियम पदार्थ ल्याउने बाटो खुल्यो |
काठमाडौं । नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन बिछ्याउने काम सकिएको छ । नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसन (आइओसी) का प्राविधिकले मंगलबार पाइपमा पानी पठाएर गरेको परीक्षण पनि सफल भएको छ ।
आयल निगम रक्सौल–अमलेखगन्ज पाइपलाइन परियोजना मेनेजर प्रदीप यादवका अनुसार पाइपमा पानीको प्रेसर पठाएर गरिएको परीक्षण सफल भएको हो ।
‘पाइपलाइन बिछ्याउने काम सम्पन्न गरेर प्रेसरमा पानी पठाएर टेस्टिङ गरेका छौं,’ यादवले भने, ‘डबल÷त्रिपल प्रेसरमा पानी पठाउँदा पनि पाइपलाइन सफल भयो ।’
पाइप फुट्न सक्ने जोखिम भएकाले गुणस्तर परीक्षण गर्न प्रेसर जाँच गरिएको हो । ‘१८२ केजी प्रतिसेन्टिमिटर इस्वायरको प्रेसरमा पाइपको हाइड्रो टेस्ट गरेका छौं,’ यादवले भने, ‘अब तेल ल्याउन पाइपको अवस्था रेडी छ ।’ पाइप कतै कमजोर भएर फुट्न सक्ने, लिकेज हुन सक्ने भएकाले पानी हालेर परीक्षण गरिएको उनले बताए ।
भारतबाट ट्यांकरमा पेट्रोलियम पदार्थ ढुवानी भइरहेको अवस्थामा अब पाइपबाट पेट्रोलियम पदार्थ ल्याउन सकिने छ । १५ महिनाअघि सुुरु भएको मोतिहारी–रक्सौल–अमलेखगन्ज पाइप बिछ्याउने परियोजना सम्पन्न भएपछि पाइपलाइनबाट इन्धन ल्याउने बाटो खुलेको हो । अब आइओसीका अधिकारीसँग बैठक गरी पाइपलाइनबाट इन्धन ल्याउने भन्ने मिति तय गरिनेछ ।