भाजपाको अध्यक्षमा नड्डा चुनिए |
काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेता जयप्रकाश नड्डा पार्टीको कार्यकारी अध्यक्ष चुनिएका छन् ।
भाजपाका निवर्तमान अध्यक्ष अमित शाह गृहमन्त्री बनेपछि नड्डा पार्टीको कार्यकारी अध्यक्ष चुनिएका हुन्। उनी नरेन्द्र मोदीको पहिलो कार्यकालमा केन्द्र सरकारमा भए पनि दोस्रो कार्यकालमा मन्त्रिमण्डलमा स्थान मिलेको थिएन। त्यतिबेला उनलाई सङ्गठनको जिम्मेवारी मिल्न सक्ने अनुमान गरिएको थियो ।
भाजपाका वरिष्ठ नेता राजनाथ सिंहले अन्तरराष्ट्रिय संचार माध्यमसँग भने, ‘अमित शाहको नेतृत्वका कारण भाजपाका धेरैले चुनाव जिते। प्रधानमन्त्रीले गृह मन्त्रालयको जिम्मेवारी दिएपछि शाह आफैले पार्टीको नेतृत्व अरुले नै सम्हाल्नुपर्छ भन्दै आउनु भएको हो ।’
५८ वर्षीय नड्डा नरेन्द्र मोदी र अमित शाहको मनपर्ने व्यक्ति हुन्। साथै भाजपाका संघमा पनि उनले राम्रो समर्थन बटुलेका छन्। विगत पाँच वर्षमा भाजपामा रही नड्डाले धेरै जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेका छन्। २०१४ को चुनावताका उनले भाजपा मुख्यालयबाट भारतभर पार्टी अभियानको निगरानी गरेका थिए ।
हिमाञ्चल बिलासपुरका नड्डाले पटनाबाट एलएलबी गरेका हुन्। शुरुदेखि नै अखिल भारतीय विद्यार्थी परिषदका सदस्य समेत रहेका उनी पहिलो पटक १९९३ मा हिमाञ्चल प्रदेशबाट विधायक चुनिएका थिए। यसअघि उनी राज्य तथा केन्द्रका मन्त्री भइसकेका छन् ।
१९९४ बाट १९९८ सम्म उनी विधानसभामा पार्टीका नेता पनि भएका थिए । २००७ मा नड्डा प्रेमकुमार धुमलको सरकारमा वन–पर्यावरण, विज्ञान तथा प्रविधि विभागका मन्त्री भएका थिए ।
भाजपाले २०१२ मा उनलाई राज्यसभा सांसद बनाएको थियो भने २०१४ मा मोदी सरकारमा स्वास्थ्य एवम् परिवार कल्याणमन्त्रीका रुपमा छनोट भएका थिए । मोदीको महत्वकांक्षी स्वास्थ्य परियोजना ‘आयुष्मान भारत’को सफलताको श्रेय पनि नड्डालाई दिइन्छ ।