सिंगटी हाइड्रो र युनाइटेड इदिले आईपीओ निष्काशन गर्ने |
काठमाडौं । सिंगटी हाइड्रो इनर्जी र युनाइटेड इदि (मार्दी एण्ड आरवी हाइड्रोपावर कम्पनी) ले प्राथमिक शेयर निष्काशन गर्नको लागि क्रेडिट रेटिङ गराएका छन् ।
दुबै कम्पनीले प्राथमिक शेयर निष्काशन गर्न मिल्ने न्युनतम रेटिङ ‘केयर एनपी आईपीओ ग्रेड चार’ प्राप्त गरेका छन् । सिंगटी हाइड्रोले ४३ करोड ५० लाख रुपैयाँको प्राथमिक शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले २५ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
आयोजनाको प्रतिमेगावाट लागत १९ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । जम्मा लगात भने चार अर्ब ७५ करोड रुपैयाँ पुग्ने अनुमान छ । बैंकको व्याजदर बढ्नुका साथै समयमा आयोजना सम्पन्न नहुने अवस्था आएमा यस्तो लागत बढ्नेछ ।
आयोजना निर्माणका लागि आवश्यक उपकरण चीन तथा भारतबाट आयात गरिनु पर्ने भएकोले विदेशी विनिमयदरले पनि लागतमा प्रभावित पार्नेछ । आयोजनाको निर्माण कार्य सकिएर हाइड्रोलोजी र ट्रान्समिसन लाइनको काम भैरहेको छ । यो कार्य केहि समयमा सकिनेछ। तर नेपाल विद्युत प्राधिकरणले तयार पार्नु पर्ने सिंगटी सवस्टेसन भने तयार हुन वाँकी छ ।
युनाइटेडले पनि १० करोड ५० लाख रुपैयाँको प्राथमिक शेयर निष्काशन गर्ने भएको हो । कम्पनीले यसै वर्षदेखि जलविद्युत उत्पादन गर्ने योजना बनाएकोमा विद्युत गृहमा पानी पर्याउने पाइप पहिरोले बगाउँदा निर्माण कार्य ढिला भएको हो । निर्माण कार्यमा ढिलाइ हुँदा आयोजनाको लागत अनुमान गरिएको भन्दा १२ करोड रुपैयाँ बढि लागेको हो ।
आयोजनाको अनुमानित लागत एक अर्ब २५ करोड रुपैयाँ गरिएकोमा बढेर एक अर्ब ३७ करोड रुपैयाँ लाग्ने भएको छ । अझै निर्माण कार्य भैरहेको हुँदा यस्तो लागत बढ्न सक्छ । यसै आधारमा प्रतिमेगावाट लागत १९ करोड ६० लाख रुपैयाँ पुग्ने अनुमान गरिएको हो । कम्पनीले ७५ प्रतिशत रकम ऋण र २५ प्रतिशत शेयर पूँजीबाट जुटाउनेछ ।