स्थापनाको दोस्रो बर्षमै उत्कृस्ट प्रदर्शन गर्दै मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय

वि. सं. २०७९ साउन १८ गते संघिय संसदबाट पारित भएको ऐन मार्फत स्थापना भएको मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले आफ्नो स्थापनाको छोटो समयमा नै उत्कृस्ट प्रदर्शन गर्दैछ । उक्त ऐनले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयलाई व्यापक स्वायत्तता प्रदान गरेको छ, जसले यसलाई एक विश्वस्तरीय, अनुसन्धानमुखी संस्थाको रूपमा विकास हुने अनुकूल वातावरण सिर्जना गरेको छ ।
मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले स्थापनाको दोस्रो बर्षमै अनुसन्धानको क्षेत्रमा उत्कृस्ट प्रदर्शन गरेको छ । हालै मात्र मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका प्राध्यापक तथा अनुसन्धानकर्ताहरुले नेपाल सरकार शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्रालयले प्रदान गरेको अनुसन्धान वृत्ति प्राप्त गरेका छन । खुल्ला प्रतियोगिता मार्फत मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका ६ जना प्राध्यापक तथा अनुसन्धानकर्ताहरुले विभिन्न विधामा २८ लाख भन्दा बढीको अनुसन्धान वृत्ति प्राप्त गरेका छन । उक्त् अनुसन्धान वृत्ति प्राप्त गर्ने प्रमुख अनुसन्धानकर्ताहरुले विभिन्न क्षेत्रमा अनुसन्धान गर्ने छन् । सस्टेनेवल तथा रेजिलिएन्ट पूर्वाधार प्रोग्रामका प्रमुख अनुसन्धानकर्ता डा. किर्ति कुसुम जोशीले दिगो र लचक भवन निर्माणमा परम्परागत गिटीगढी बिषयमा, अर्ग्यानिक एग्रीकल्चर प्रोग्रामका डा. भुषण श्रेष्ठले नेपालको औषधीय च्याउबाट स्वास्थ्य सेवा उत्पादन बिषयमा, फरेस्ट बायोमटेरियल प्रोग्रामका डा. सबिना श्रेष्ठले चित्लाङको बिरुवाबाट प्राकृतिक खाद्य रङ्गको प्रयोग बिषयमा, अर्ग्यानिक एग्रीकल्चर प्रोग्रामका डा. सर्वेश दास डंगोलले नेपालको स्थानीय कोदो र चामलको संरक्षणका लागि रोग पत्तालगाउने बिषयमा, डिजिटल प्रविधि प्रोग्रामका डा. रिजन महर्जनले प्रविधिको प्रयोग मार्फत प्लास्टिक फोहोर व्यस्थापन बिषयमा, तथा फरेस्ट बायोमटेरियल प्रोग्रामका डा. झसनाथ अधिकारी सुबिनले मलिक्युलर डकिंग गणना निर्माण रेडी लिगांड डाटाबेस बिषयमा अनुसन्धान गर्ने छन् ।
त्यसै गरि नेपाल बिज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठानद्वारा आयोजित अनुसन्धान वृत्तिका लागि खुल्ला प्रतिस्पर्धा मार्फत मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले १२ लाखको अनुसन्धान वृत्ति प्राप्त गरेको छ । प्रज्ञा-प्रतिष्ठानले आयोजना गरेको “युवा बैज्ञानिकहरुको लागि अनुसन्धान सहयोग” कार्यक्रम मार्फत चालु आर्थिक वर्ष २०८१/२०८२ मा बहुबिधागत विधामा प्रमुख अनुसन्धानकर्ता डा. सर्वेश दास डंगोलले पोलीमरासेसको इन भिट्रो उत्पादन तथा ग्रहण बिषयमा अनुसन्धान वृत्ति प्राप्त गरेका हुन् ।
अन्तररास्ट्रिय स्तरमा पनि यस विश्वविद्यालयका अनुसन्धानकर्ताले अनुसन्धान वृत्ति प्राप्त गरेका छन। फिलिपिन्सको बहाए फाउन्डेसनको टिकाउ सामग्रीहरूबाट सुलभ, विपद् प्रतिरोधी, तथा वातावरणमैत्री घरहरू निर्माण सम्बन्धि अनुसन्धान गर्न पच्चीस लाखको अनुसन्धानवृत्ति डा. किशोर तिमल्सिनाले प्राप्त गरेका छन ।
हाल डिजिटल प्रविधि, अर्ग्यानिक एग्रीकल्चर, फरेस्ट बायोमटेरियल विषयका पाँचवटा अनुसन्धान प्रयोगशाला संचालन गरिरहेको उक्त विश्वविद्यालयले निकट भविष्यमा साइबर सुरक्षा तथा डिजिटल फरेन्सिक प्रयोगशाला स्थापना गर्नेछ । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले नवीनतामा जोड दिँदै, नयाँ ज्ञान तथा प्रविधि उत्पादन गरी नेपालको प्रतिस्पर्धात्मक क्षमता बढाउने र देशको आर्थिक वृद्धिमा प्रत्यक्ष योगदान दिने लक्ष्य राखेको छ। मकवानपुर जिल्लाको चित्लाङमा अवस्थित मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय वैज्ञानिक उन्नतिको केन्द्र तथा क्षेत्रीय र राष्ट्रिय विकासको प्रमुख प्रेरक शक्ति बन्ने लक्ष्य राखेको छ ।