महालक्ष्मी विकास बैंकद्वारा ग्लोबल मनी वीकको अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौ । महालक्ष्मी विकास बैंक लिमिटेडले ग्लोबल मनी वीक २०२५ को अवसरमा देशभर व्यापक वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ। चैत ४ देखि १० गतेसम्म सप्ताहव्यापी रूपमा मनाइएको यो अभियानमा बैंकले सातवटै प्रदेशका शाखा र प्रादेशिक कार्यालयहरू मार्फत वित्तीय पहुँचबाहिर रहेका लक्षित समूहहरूलाई लक्षित गर्दै विभिन्न कार्यक्रम सम्पन्न गरेको हो।
बैंकका गंगबु, धनगढी, चन्द्रनिगाहपुर, दमौली, इटहरी, जनकपुर, वीरगञ्ज, दमक, टिकापुर, महेन्द्रनगर, बुटवल, लेकसाइड पोखरा लगायतका शाखाहरूमा विद्यार्थी र युवाहरूमाझ प्रभातफेरी, सचेतना र वित्तीय साक्षरतामूलक कार्यक्रमहरू सञ्चालन गरिएका थिए।
कार्यक्रमहरूमा कर्जा, बचत, लगानी, डिजिटल बैंकिङ्ग, सफा नोट, विप्रेषण, बीमा, धितोपत्र बजार, वित्तीय ठगी नियन्त्रण, गुनासो प्रणाली र वित्तीय अनुशासनबारे जानकारी दिइएको थियो। देशभर गरी १२०० भन्दा बढीको प्रत्यक्ष सहभागिता रहेको यस अभियानमार्फत युवाहरूमा जिम्मेवार वित्तीय व्यवहार र निर्णय क्षमता विकास गराउने उद्देश्य राखिएको थियो।
साथै बैंकले सामाजिक सञ्जालमार्फत वित्तीय साक्षरतासम्बन्धी सचेतनामूलक सामग्री, भिडियो र सूचनाहरू प्रकाशित गर्दै डिजिटल पहुँचसमेत विस्तार गरेको छ। यसले वित्तीय शिक्षाको पहुँच टाढा टाढासम्म पुर्याएको बैंकको विश्वास छ ।