पोखराको खानेपानी आयोजनालाई जाइकाको सहयोग |
पोखरा । कास्की पुन्चौरमा ३ वर्षभित्र खानेपानी योजना सम्पन्न गर्ने गरि सम्झौता भएको छ । पोखरेलीलाई स्वच्छ र सफा पानी उपलब्ध गराउने आयोजनाको सोमबार खानेपानी मन्त्री बिना मगर र नेपालका लागि जापानी राजदूत मासामिची साइगोले शिलान्यास गरेका छन् । यो आयोजना लगानीका हिसाबले मेलम्चीपछि दोस्रो ठूलो आयोजना हुनेछ ।
मर्दी खोलाबाट आउने पानीको कास्की पुन्चौरमा ३ वर्षभित्र सम्पन्न गर्ने योजना छ । जापान सरकार सहयोग संस्था (जाइका) को सहयोगमा नेपाल खानेपानी संस्थानले पोखरामा वितरण हुने पानीको शुद्धीकरण आयोजना निर्माण गर्न लागेको छ ।
पानी थिग्राउने (सेडिमेन्ट ट्यांक), फिल्टर, सफा पानी मात्रै संकलन गर्ने ट्यांकी र क्लोरिनेसन प्लान्ट निर्माण गरी पोखरालाई शुद्ध पानी खुवाउने लक्ष्य छ । ४ अर्ब २१ करोड जापानी येनको बोलपत्र आह्वान गरिएको आयोजनालाई ठेकेदार कम्पनील ३ अर्ब ९४ करोड २७ लाख जापानी येनमा निर्माणको जिम्मा पाएको संस्थानका महाप्रबन्धक डा. भुपेन्द्र प्रसादले जानकारी दिए ।
यो आयोजना निर्माण भएपछि ४ करोड १ लाख लिटर पानी दैनिक शुद्धीकरण हुनेछ । हाजमा इन्डो कर्पोरेसनसँग संस्थानले २०७५ फागुनमै ठेक्का सम्झौता गरिएको छ ।
शुद्धीकरणको पहिलो प्रक्रिया मर्दी मुहानमै हुनेछ भने ९ सय ३० घनमिटरका २ वटा प्लान्ट निर्माण गरी पुरन्चौर तुल्सीतारा घाटमा सफा पानी संकलन हुनेछ ।
पोखराका ३ ठाउँमा सफा पानी संकलन गर्ने २०÷२० लाख लिटर क्षमताको ट्याङ्क निर्माण हुने छ । प्रस्याङ, फूलबारी, कोलपाटन निर्माण हुने ट्याङ्कमार्फत पानी वितरण हुनेछ, त्यसका लागि १ सय १३ किलोमिटर पाइपलाइन आयोजना निर्माण कम्पनीले नै बिछ्याइने छ । सन् २०२२ डिसेम्बर ३१ भित्र निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने लक्ष्य राखिएको छ ।
जाइकाले ४ अर्ब ८१ करोड ३० लाख रुपैयाँ अनुदान उपलब्ध गराएकोमा खानेपानी संस्थानलाई १ प्रतिशत ब्याजमा ३० वर्षसम्मका लागि सस्तो ऋण उपलब्ध गराइएको डा. भुपेन्द्र प्रसादले जानकारी दिए । मर्दी खोलाबाट पोखरामा शुद्ध खानेपानी ल्याउने वषौंदेखिको पोखरेलीले सुनेको योजना हो ।
सन् २००४ मै यसको सम्भाव्यता अध्ययन भएको थियो । शिलान्यासपछि खानेपानी मन्त्री बिना मगरले तोकिएको समयमै शुद्ध खानेपानी पुर्याउन सरकार प्रतिवद्ध रहेको बताइन् ।
गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतले प्रदेश सरकारले पनि अबको १ वर्षभित्रै सबै ठाउँमा आधारभूत खानेपानी पु¥याउने लक्ष्य राखेको सुनाउँदै शुद्ध खानेपानी वितरणमा पनि प्रदेशले योजनावद्ध काम गर्ने बताए । पोखरा महानगरका मेयर मानबहादुर जिसीले खानेपानी, सडक र प्राविधिकरणबीचको समन्वय नहुने र झन्झटिलो प्रक्रिया पनि विकासको बाधक भएको बताए ।
वषौंदेखिको आयोजना शुरु हुनु पोखराका लागि खुसीको कुरा भए पनि समन्वयको पाटोलाई कसिलो बनाउन उनले आग्रह गरे । विभिन्न राजनीतिक दलका नेताले वषौंदेखिको सपना र मिहिनेतपछि सुरु भएको आयोजनाले पोखरेलीलाई खुसी बनाएको बताउँदै समयमै सकिनेमा विश्वास व्यक्त गरे ।