कुलेखानी तेस्रोको ‘नो लोड’ परीक्षण शुरु |
काठमाडौं । कुलेखानी तेस्रो आयोजनाको कामले गति लिंदा आइतबारबाट पहिलो युनिटमा ‘नो लोड टेस्टिङ’ शुरु गर्न सम्भव भएको छ ।
विजुली उत्पादन नगर्ने गरी हाइड्रो मेकानिकल उपकरणमा पानी राखेर परीक्षण गर्नुलाई ‘नो लोड टेस्टिङ’ भनिन्छ । अबको एक हप्ताभित्रै विद्युतको परीक्षण उत्पादन थाल्न सकिने अपेक्षा गरिएको छ ।
प्राधिकरण र कम्पनीबीच हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकलका उपकरणहरुको आपूर्ति, जडान र संचालनका लागि ५० लाख अमेरिकी डलर र २४ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । ढिलो काम गरेबापत ठेक्का रकमको १० प्रतिशतले हुन आउने रकम (झन्डै ७ करोड रुपैयाँ) जरिवाना कम्पनीबाट अशुल्ने निर्णय प्राधिकरणले गरिसकेको छ ।
प्राधिकरणले मकवानपुरमा निर्माण गरिरहेको १४ मेगावाटको कुलेखानी तेस्रो जलविद्युत आयोजनाको संरचना तथा उपकरणको परीक्षण सकिएर ‘नो लोड’ परीक्षण शुरु भएको नेपाल सवद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । ‘जतिसक्दो छिट्टो आयोजनाबाट विद्यत् उत्पादन गर्न सबै उपाय लगाइरहेका छौं,’ घिसिङले भने ।
आयोजनाको निर्माण चालु आर्थिक वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल कामको ठेक्का लिएको चिनियाँ कम्पनी झेजियाङ जिनलुन इलेक्ट्रोमेकानिकल लिमिटेड र त्यसको नेपाली साझेदार कम्पनी हुलास इन्जिनियरिङ एण्ड कन्ट्रक्सनको लापरबाही र कमजोर कार्यसम्पादनका आयोजनाको निर्माण ढिलाइ भएको छ ।
आयोजनाले कुलेखानी जलाशयको नियन्त्रित वहाव र खानी खोलाको थप पानी प्रयोग गर्ने छ । कुलेखानी तेस्रो कुलेखानी पहिलो र दोस्रो आयोजनाको क्यास्केड आयोजना हो ।
नेपाल सरकार र विद्युत प्राधिकरणको लगानीमा निर्माण भइरहेको हो । आयोजनाको सुरुको लागत २ अर्ब ३३ करोड रुपैयाँ थियो । निर्माण अवधि बढेसँगै आयोजनाको लागत ४ अर्ब ६३ करोड रुपैयाँ पुग्ने संशोधित अनुमान छ ।