पहाडमा चल्ने सवारी साधनमा भन्सार दर १० प्रतिशत बढ्यो |
काठमाडौं । पहाडी भेगको चल्ने डबल क्याब पिकअप सवारी साधनको भन्सार दर सरकारले १० प्रतिशत बढेको छ । सरकारले बजेटमार्फत अटो क्षेत्रमा यो एउटा मात्रै ठूलो निर्णय गरेको छ तर त्यसको सबैभन्दा ठूलो असर भने भर्खरै निर्माण हुँदै गरेको ग्रामिण अर्थतन्त्रमा पर्ने भएको छ ।
पहाडको कच्ची सडकमा ढुवानी र यात्रु बोक्न प्रयोग भैरहेका यी गाडीको भन्सार दर १० प्रतिशतले बढाउँदा त्यसको मूल्य तीन लाखदेखि सात लाख रुपैयाँसम्म बढेको छ । पहिला सिंगल क्याब र डबल क्याब पिकअपको भन्सार दर बराबरी थियो । सिंगल क्याबमा एक जना चालक र एक यात्रु बस्न मिल्छ भने डबल क्याबमा एक जना चालकसहित चार जना यात्रु समेत राख्न मिल्छ ।
चार जना यात्रुसँगै पछिल्लो भागमा सामान ढुवानी गर्न मिल्ने भएपछि ग्रामिण क्षेत्रमा अहिले डबल क्याव पिकअपको माग राम्रो छ । भन्सार बढ्दा पहाडी भेगका जनता प्रभावित हुने देखिएको छ ।
डबल क्याब पिकअप गाडी विकास परियोजनामा समेत प्रयोग हुन्छ । अहिले नेपाली बजारमा महिन्द्राको बोलेरो र स्कार्पियो, टाटाको जेनेन, इसुजुको डिम्याक्स, फोर्डको रेन्जर, निसानको नाभारा र टोयोटाको हाइलक्स विक्री हुँदै आएका छन् । त्यसमध्ये महिन्द्रा र टाटाका गाडी ग्रामिण भेगमा तथा इसुजु, फोर्ड र टोयोटाको डबल क्याव पिकअप जलविद्युत लगायतका परियोजनामा बढी सञ्जालन हुन्छन् । यो सेग्मेन्टमा वार्षिक झण्डै १० हजार गाडी विक्री हुन्छ ।