एमबीएल इक्विटी फण्डको इकाई खरिदका लागि आवेदन दिने समय लम्बियो

काठमाडौं । ‘एमबीएल इक्विटी फन्ड’ मा आवेदन दिने समय लम्बिएको छ । यस फन्डको इकाई खरिदका लागि अब चैत ७ गतेसम्म आवेदन दिन पाइने भएको छ । यसअघि उक्त फन्डमा छिटोमा फागुन १६ गते निष्कासन बन्द हुने भनिएको भएपनि माग अनुसारको आवेदन नपरेकोले निष्कासन अवधि लम्बिएको क्यापिटलले जनाएको छ । मागभन्दा धेरै आवेदन यसअघि नै सूचना जारी गरेर निष्कासन बन्द गर्ने कम्पनीले जनाएको छ ।
माछापुच्छ्रे क्यापिटलले फागुन २२ गतेदेखि म्युचुअल फन्ड योजना बिक्री खुला गरेको हो । माछापुच्छ्रे क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको ‘एमबीएल इक्विटी फन्ड’ले १२ करोड इकाई बिक्री खुला गरेको हो । यसले प्रतिइकाई १० रुपैयाँको दरले १ अर्ब २० करोड रुपैयाँ बराबरको इकाई जारी गरेको छ ।
कुल योजनाको आकारमध्ये १५ प्रतिशत इकाई माछापुच्छ्रे बैंक तथा १४ प्रतिशत इकाई माछापुच्छ्रे क्यापिटलले खरिद गर्नेछन् । बाँकी रहेको ८५ करोड रुपैयाँ बराबरको १० करोड २० लाख इकाई सार्वजनिक निष्कासन भएको हो । यसमा न्यूनतम १ सय इकईदेखि अधिकतम १ करोड २० लाख इकाईसम्म आवेदन दिन सकिनेछ । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ ।