पूर्वराजा पोखराबाट काठमाडौं आउँदै, राजावादीहरुकोे शक्ति प्रदर्शन गर्नेे तयारी, सुरक्षा व्यवस्था कडा

राप्रपा, राप्रपा नेपालसहितका राजनीतिक दल र संघसंस्थाहरुले काठमाडौंका विभिन्न स्थानबाट र्यालीसहित प्रदर्शनको तयारी गरेका छन् ।राजावादीहरुले सडकका दुवै किनारमा उपस्थित भएर उनको स्वागत गर्ने छन् । शाह विमानस्थलबाट महाराजगञ्जस्थित निर्मल निवास जानेछन् । राजावादीहरु पनि उनलाई पुर्याउन र्यालीसहित निर्मल निवाससम्म पुग्ने छन् ।
त्यसका लागि राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालले आफ्ना कार्यकर्ताहरुलाई बेग्लाबेग्लै उतार्ने तयारी गरेका छन् । उनीहरुले काठमाडौं उपत्यका आसपासका जिल्लाबाट कार्यकर्ताहरुलाई उतारेका छन् । उनीहरुलाई राष्ट्रिय झण्डा, फूलमाला र ज्ञानेन्द्र शाहको तस्वीर अंकित ब्यानर एवम् पम्प्लेटसहित उपस्थित हुन भनिएको छ ।
राप्रपा र राप्रपा नेपालबाहेक अनिल बस्नेत नेतृत्वको शिव सेना नेपाल, दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान, प्रसाईं समर्थित नागरिक प्रतिरक्षा बल (पीडीएफ), राष्ट्र शक्ति नेपाल, नेवाः एकता तथा नागरिक समाज लगायत पनि पूर्वराजा शाहको स्वागतमा सडकमा उत्रिने तयारीमा छन् ।
राजावादीहरुको स्वागतमा विभिन्न दल र समूहहरु सडकमा उत्रिने भएपछि काठमाडौंको सुरक्षा प्रबन्ध चुस्त बनाइएको छ । भिड अनियन्त्रित हुन नदिन र अवाञ्छित क्रियाकलाप रोक्न सुरक्षाकर्मीहरुलाई ‘हाई अलर्ट’मा राखिएको छ ।