योजना थप्नु भन्दा थालिएका पूरा गर्न जरुरी: मन्त्री दाहाल

काठमाडौ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नयाँ योजनाहरु थप गर्नु भन्दा थालिएका योजनाहरु पूरा गर्नु अहिलेको आवश्यकता रहेको बताएका छन् ।
प्रतिनिधीसभामा विभिन्न समयमा सांसदहरुले उठाएका प्रश्नको शुक्रबार जवाफ दिने क्रममा उनले सरकारले नयाँ योजना भन्दा पनि शुरु भै सकेका राष्ट्रिय प्राथमिकताका योजनाहरुमा श्रोत प्राथमिकिकरण गरी सम्पन्न गर्ने नीति लिएको बताए ।
त्यस क्रममा उहाँले वर्षातबाट क्षतिग्रस्त विपी राजमार्ग लगायत सवै खण्डहरु पुन निर्माणको प्रकृया शुरु भइसकेको समेत संसदलाई जानकारी गराउनु भयो । सांसदहरुले विभिन्न योजना, आयोजनागत रुपमा एवम् नीतिगत रुपमा समेत विभिन्न प्रश्नहरु राखे । संसदमा आफ्नो संवोधनका क्रममा सांसदहरुले राखेका मन्त्रालयसँग सम्वन्धित प्रश्नहरुको जवाफ दिँदै मन्त्री दाहालले संसदमा उठेका विषयमा प्रष्ट पार्न र सांसदहरुको जवाफ दिन मन्त्रालय सधै तत्पर रहेको प्रतिवद्धता समेत जनाए ।
सडक सुरक्षा उच्च प्राथमिकतामा
सडक तथा सवारी दुर्घटना न्युनिकरणलाई सरकारले उच्च प्राथमिकता दिएको भन्दै मन्त्री दाहालले निर्माणाधिन सडकहरुमा सडक सुरक्षालाई सडक संकेत, सडक चिन्ह, जेब्रा क्रसिङ लगायत सडक सुरक्षासंग सम्बन्धित संरचनहरु निर्माण गर्ने गरिएको बताए ।
सडक दुर्घटना न्यूनिकरण गर्नका लागि मन्त्रालयले सडक सुरक्षा कार्ययोजना २०२१–३० निर्माण गरी सडक विभाग, यातायात व्यवस्था विभाग र सडक सुरक्षा परिषद मार्फत मार्फत दुर्घटना न्यूनिकरण एवं दुर्घटना पछिको उद्धार तथा उपचारका कार्यहरु प्रभावकारी रुपमा संचालनको प्रवन्ध गरिएको उनले जवाफका क्रममा बताए । २० वर्षभन्दा पुराना सार्वजनिक सवारी साधन चलाउन नपाइने नेपाल सरकारको निर्णय कार्यान्वयन भएको, प्रस्तावित सवारी तथा यातायात व्यवस्थापन सम्बन्धी विधेयक, २०८१ मा पुराना सवारी साधनको व्यवस्थापनका विषय समेटिएको तथा पुराना सवारी साधनलाइ पत्रु गरिने सम्बन्धी मापदण्ड तयारीको क्रममा रहेको मन्त्री दाहालले संसदलाई जानकारी गराए ।
यस्तै हाल कायम रहेका सडकहरुमा रहेका सडक सुरक्षासंग सम्बन्धित संरचनाहरुको मर्मत संरचनालाई उच्च प्राथमिकतामा राखेको उनको भनाई छ ।
वर्षायाममा यातायात अवरुद्ध हुन नदिने
मन्त्री दाहालले संसदमा जवाफ दिने क्रममा आगामी वर्षायामको समयमा यातायात अवरुद्ध हुन नदिने गरि मन्त्रालयले काम गरि रहेको बताए ।
बाढी पहिरोले क्षति भएका तथा आगामी वर्षामा सडक अवरोध हुने सम्भावना रहेका स्थानहरुमा वैकल्पिक मार्गको विकास र विस्तार, डाईभर्सन निर्माण लगायतका वैकल्पिक उपायहरु अवलम्बन गरिएको भन्दै उहाँको भनाई थियो । सम्भावित जोखिमलाई मध्यनजर गरि मन्त्रालयले वर्षातको समयमा सवारी आवागमन अवरुद्ध हुन नदिन काम गरिएको बताए ।
ठेक्का लागेर पनि लामो समय सम्म काम हुन नसकेका तथा काम अवरुद्ध भएका आयोजनाहरुको अध्ययन गरिएको भन्दै उनले रुग्ण आयोजनाहरुको समस्या समाधानका लागि आयोजनागत रुपमा समाधानको प्रकृया अघि बढाईएको बताए ।
पूर्वपश्चिम राजमार्ग विस्तार, मदन भण्डारी राजमार्ग, पुष्पलाल राजमार्ग, उत्तर दक्षिण करिडोर तथा विभिन्न राजमार्गहरुको निर्माण र स्तरीकरणलाई सरकारले प्राथमिकताका साथ अघि बढाई रहेको मन्त्री दाहालले बताए । यस्तै कृषि र पर्यटन क्षेत्रलाई सडक पूर्वाधारसँग जोड्ने र विकास निर्माणमा टेवा पुर्याउने सोँचका साथ सरकारले योजना गरिरहेको र बजेट सोही अनुसार विनियोजन गरिने मन्त्री दाालले उल्लेख गरे ।