सम्पदा स्वदेश फिर्ता ल्याउन सरकारले सहकार्य गरिरहेको छ: मन्त्री पाण्डे

काठमाडौ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल सरकार सांस्कृतिक सम्पदाको पुनःस्थापनासम्बन्धी स्पष्ट नीति निर्माणको प्रक्रियामा रहेको बताएका छन् ।
जर्मनीको भ्रमणमा रहेका भएका मन्त्री पाण्डेले हाइडेलबर्गस्थित सेनटर फर एशिया एण्ड टान्स कल्चर स्टडिजले मन्त्री पाण्डेको सम्मानमा शुक्रबार आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्बोधनका क्रममा सो कुरा बताएका हुन ।
उनले विश्वका अन्य देशमा रहेका नेपाली सम्पदाहरु फिर्ता ल्याउने काम सरकार, विभिन्न संस्था तथा विद्वानहरूबीचको सहकार्यबाट हुँदै आएको बताए ।
नेपालका प्रचिन ग्रन्थ तथा लिखित सम्पदालाई जर्मनीमा सुरक्षित रूपमा संरक्षण गरिएको पाउँदा आफूलाई खुशी लागेको उल्लेख गर्दै मन्त्री पाण्डेले प्रोफेसर माइकल्स र उनको टोलीले महत्वपूर्ण सम्पदाको संरक्षणका लागि गरेको योगदानको प्रशंसा गरेका थिए ।
सम्बोधनका क्रममा मन्त्री पाण्डेले भने, तपाईंहरूको इच्छाशक्ति र प्रयासबाट यी महत्वपूर्ण सामग्री नेपाल फर्काउने प्रक्रिया अघि बढ्दैछ, यसबाट ति सम्पदाहरु पहिलेकै स्थानमा पुनःस्थापित गर्न सकिनेछ ।
नेपालका लिखित तथा निभिन्न सम्पदाको संरक्षणमा जर्मनीसँग लामो समयदेखि नेपालले काम गरिरहेको र नेपाल–जर्मनबीच पाण्डुलिपि संरक्षण परियोजना ४० वर्षभन्दा बढी सञ्चालनमा रहेको उल्लेख गर्दै यसबाट हजारौं पाण्डुलिपिहरू सुरक्षित राख्न सहयोग पु¥याएको र यो अझै जारी रहेको मन्त्री पाण्डेले बताए ।
उनले अगाडि भने, हाइडेलबर्ग विश्वविद्यालय अन्तर्गतको दक्षिण एसियाली संस्थानले नेपालमा दशकौँदेखि आफ्नो शाखा कार्यालय सञ्चालन गर्दै आएको छ । भविष्यमा पनि विश्वविद्यालय, संस्था, तथा अन्य सरोकारवालाबीच सहकार्यका लागि नेपाल सरकार तयार छ ।
मन्त्री पाण्डेले राष्ट्रिय अभिलेखालयले जर्मनीका विश्वविद्यालयहरूसँग लामो समयदेखि सहकार्य गर्दै आएको र यसबाट जसले यी सामग्रीको संरक्षणमा महत्वपूर्ण योगदान पुगेका बताए ।
सो अवसरमा जर्मनीका लागि नेपाली राजदूत डा. शैल रूपाखेतीले जर्मनीमा रहेको महत्वपूर्ण पाण्डुलिपिहरु तथा अन्य सम्पदा नेपाल फर्काउन आफूले सक्दो प्रयास गर्ने बताए ।