नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप स्कीमु सार्वजनिक |
काठमाडौं । नेपाल टेलिकमले न्यूनतम प्याकेज रकमबाट महिनाभरी मोवाइलमा असीमित कुराकानी गर्न सकिने सुविधा ल्याएको छ ।कम्पनीले संस्थागत प्रयोगकर्ता समूह कर्पोरेट युजर ग्रुप योजनाअनुसार यो सेवा प्रयोग गर्न पाउने जनाएको छ । कम्पनीका अनुसार यसका लागि एउटै संस्थामा कार्यरत कम्तिमा पनि १० जना मोवाइल प्रयोगकर्ता हुनुपर्नेछ । कम्पनीका अनुसार तर सो भन्दा बढी जति पनि संख्याका मोवाइल प्रयोगकर्ताले यो सुविधा उपभोग गर्न सक्नेछन् ।
समूहमा आबद्ध नम्बरहरु बाहेक नेपाल टेलिकमका अन्य नम्बरहरुमा पनि प्याकेजमा उपलब्ध गराइएको फ्रि रिसोर्सेज (कुराकानी, इन्टरनेट र सन्देश) प्रयोग गरी निːशुल्क सुविधा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । सेवा प्रयोग गर्न इच्छुक संस्थाले संस्था दर्ताको प्रमाणपत्रसहितको निवेदन नजिकको दूरसञ्चार कार्यालयमा दर्ता गर्नुपर्ने कम्पनीले जनाएको छ । ‘टेलिकमका मोवाइल नम्बरसहितका समूहमा आबद्ध हुने व्यक्तिका नामावली र लिइने संस्थागत प्याकेज निवेदनमा खुलाई पेश गर्नुपर्छ । ,कम्पनीद्धारा जारी विज्ञप्तिमा भनिएको छ । टेलिकमका मोवाइल नम्बर नभएको खण्डमा निर्धारित महशुल लिएर ग्राहक सेवा केन्द्रले तत्कालै नयाँ मोवाइल नम्बर उपलब्ध गराउने छ ।
यो सेवामा आवद्धताका लागि प्रत्येक ग्राहकले प्रति महिना आफ्नो मोवाइल नम्बरमा सब्स्क्रिप्सन शुल्क वापत न्यूनतम प्याकेज रकम हुनुपर्ने कम्पनीले जनाएको छ । प्रिपेड मोवाइलमा मात्र उपलब्ध प्रति महिना २ सय रुपैयाँ बराबरको संस्थागत प्याकेज लिएर समूहभित्र महिनाभरि असिमित कुराकानी गर्न सकिने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार समूह बाहेकका नेपाल टेलिकमका ल्याण्डलाइन नम्बरहरु, जीएसएम र सीडीएमएका प्रिपेड र पोस्टपेड मोवाइलमा महिनाभरमा ६५ मिनेटसम्म कुराकानी गर्न, १ सय २५ एमबीको इन्टरनेट प्रयोग गर्न र २५ वटा सन्देश पठाउन सकिन्छ । प्रिपेड वा पोस्टपेड दुवै मोवाइलमा ४ सयको संस्थागत प्याकेज लिंदा डेढसय मिनेट कुराकानी, ३ सय एमबीको इन्टरेनट र ५० वटा सन्देश न्यूनतम शुल्कमै प्रयोगमा ल्याउन सकिने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार सातसय रुपैयाँको संस्थागत प्याकेज लिएमा ३ सय मिनेट कुराकानी, ८ सय एमबी इन्टरनेट र सयवटा सन्देश, एकहजार रुपैयाँमा ४ सय ५० मिनेट कुराकानी, १५ सय एमबी डाटा तथा डेढसय वटा सन्देश पठाउन सकिन्छ । १३ सयको संस्थागत प्याकेजमा ६ सय मिनेट कुराकानी, २१ सय एमबी डाटा र २ सयवटा सन्देश तथा १६ सयको संस्थागत प्याकेजमा ७ सय ५० मिनेट कुराकानी, २७ सय एमबी डाटा र अढाईसय सन्देशको सुविधा पाउने कम्पनीले जनाएको छ ।