नेपालकै ठूलो कागज कारखाना सञ्चालनमा, ४० प्रतिशत कागज नेपालमै उत्पादन हुने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालको लगानीमा रहेको नेपालकै सबैभन्दा ठूलो कागज उद्योग सञ्चालनमा आएको छ । अध्यक्ष ढकालको लगानीमा महोत्तरीमा नेपालकै सबैभन्दा ठूलो कागज उद्योग आज (बिहीवार) बाट पूर्ण रुपमा सञ्चालनमा गर्न लागिएको हो ।
पछिल्लो समय नेपालमा बढ्दो कागज आयातलाई प्रतिस्थापन गर्दै स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्देश्यले ढकालले कागज उद्योग संचालनमा ल्याएका हुन् । हाल उक्त उद्योगमा आईएमई समूहलगायतको २ अर्ब रुपैयाँ बढी लगानी रहेको छ । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ स्थित रामनगरमा रहेको यस उद्योगमा नेपाली लगानीकर्ताहरूकै लगानी रहेको छ । विस २०७८ सालमा शिलान्यास भएको यस उद्योगको निर्माण प्रक्रिया सकिएर २०८१ पुसदेखि उत्पादन शुरु गरिसकेको छ ।
ढकालको नेतृत्वमा स्थापित उक्त उद्योगको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दैछन् । आयात प्रतिस्थापन गर्दै स्वदेशमै ठूलो मात्रामा रोजगारी गर्ने उद्देश्यले स्थापित उक्त उद्योगको बुधबार प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
महोत्तरीको गौशाला नगरपालिका १ स्थित रामनगरमा रहेको यस उद्योगमा सबै नेपाली लगानीकर्ताहरुको लगानी छ । २०७८ मा शिलान्यास भएको यो उद्योगले निर्माण प्रक्रिया सकिएर २०८१ पुसदेखि उत्पादन शुरु गरिसकेको छ ।
अध्यक्ष ढकालले उद्योगले आयात प्रतिस्थापन गर्दै स्वदेशमै ठूलो रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको बताए । नेपालमा वार्षिक झन्डै डेढ लाख मेट्रिक टन कागज खपत भइरहेको छ । नेपालमा कागज उद्योग नहुँदा अहिले सबै कामका लागि आवश्यक कागज आयात गर्नुपर्ने अवस्था रहेकाले निजी क्षेत्रले लगानी गरेर अगाडि बढाउन लागिएको बताए । उनले सरकारले अध्यादेशमार्फत निजी क्षेत्रको लगानी प्रवर्द्धन गर्नेगरी कानूनमा सुधार गरेकाले पनि अहिले लगानीको वातावरण बनेको जिकिर गरे । उनले नेपालमा लगानीको वातावरण नरहेको भन्ने भाष्य चिर्न पनि कागज उद्योग महत्वपूर्ण हुने बताए ।
भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षमा नेपालमा ८ अर्ब १४ करोड रुपैयाँभन्दा बढीको कागज आयात भएको छ । चालू आर्थिक वर्षको सात महिनामा मात्रै ३ अर्ब ६५ करोड रुपैयाँको कागज आयात भएको देखिन्छ । उक्त तथ्यांकलाई आधार मान्ने हो भने पनि बार्षिक करिव ३ अर्ब रुपैयाँ बराबरको कागज आयात प्रतिस्थापन हुनेछ ।
हाल उद्योगको दैनिक कागज उत्पादन क्षमता ७५ मेट्रिक टन रहेको छ । तर केही समयभित्रै क्षमता विस्तार गरी दैनिक १५० मेट्रिक टन कागज उत्पादन गर्ने उद्योगले जानकारी दिएको छ । जसबाट वार्षिक अर्बौँ रकम विदेशिनबाट रोकिनेछ भने प्रत्यक्ष अप्रत्यक्ष रुपमा हजारौँले स्वदेशमै रोजगारी पाउनेछन । सो उद्योगमा कार्यरतमध्ये श्रमिक तथा कर्मचारीमध्ये ५० प्रतिशत भन्दा बढी स्थानीय र २० प्रतिशत श्रमिकमा महिलाहरु रहेका छन् । उद्योगले प्रत्यक्ष रुपमा ५ सय जनालाई रोजगारी दिनेछ ।