७ महिनामा १२० अर्ब बीमाशुल्क आर्जन, १०.३० प्रतिशत वृद्धि

काठमाडौं । हाल देशमा सञ्चालित बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको माघमसान्तसम्म कुल १ खर्ब २० अर्ब ७८ करोड बढी बीमाशुल्क आर्जन गरेका छन् । यो सञ्चालनमा रहेका जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले आर्जन गरेको कुल बीमा शुल्क हो । गत आर्थिक वर्षको यसै अवधिको तुलनामा बीमाशुल्क संकलन १०.३० प्रतिशतले बढेको हो । बीमा कम्पनीहरुको गत आवको माघसम्म १ खर्ब ९ अर्ब ५१ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका थिए ।
नेपाल बीमा प्राधिकरणका अनुसार बीमा कम्पनीहरुले संकलन गरेको कुल बीमा शुल्कमध्ये जीवन बीमा कम्पनीहरुले ९६ अर्ब १ करोड १८ लाख रुपैयाँ तथा निर्जीवन बीमा कम्पनीहरुले २४ अर्ब ७७ करोड ७० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् । गत वर्षको यसै अवधिको तुलनामा जीवन बीमा कम्पनीहरुको व्यवसाय १०.४६ प्रतिशत तथा निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय ९.६९ प्रतिशतले बढेको हो ।
गत आर्थिक वर्षको माघसम्म जीवन बीमा कम्पनीहरुले ८६ अर्ब ९२ करोड ३१ लाख रुपैयाँ तथा निर्जीवन बीमा कम्पनीहरुले २२ अर्ब ५८ करोड ७३ लाख बीमाशुल्क संकलन गरेका थिए । यो अवधिमा जीवन बीमा कम्पनीहरुले २० अर्ब ७५ करोड ४१ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेका हुन् भने बीमा लेख नवीकरणबाट ७५ अर्ब २५ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका हुन् । गत आवको माघको तुलनामा जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क २८.४९ प्रतिशत तथा नवीकरण शुल्क ६.३४ प्रतिशतले बढेको हो ।
बीमा कम्पनीहरुले आफ्नो व्यवसाय तथा पहुँच विस्तारका लागि शाखा संजालसँगै कर्मचारी बढाउँदै लगेको अनुपातमा बीमाको पहुँच विस्तारमा भने सामान्य सुधार देखिएको छ । प्राधिकरणले सार्वजनिक गरेको गत माघ मसान्तसम्मको बीमा क्षेत्रको विवरणमा पछिल्लो १ वर्षमा बिमा कम्पनीहरुको कार्यालय संख्या ३.५२ प्रतिशत तथा कर्मचारी संख्या ५.०६ प्रतिशतले बढेको छ ।
बिमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को माघ महिनासम्मको तथ्यांक अनुसार बीमाको दायरामा आएको कुल जनसंख्या ४३.९४ प्रतिशत मात्रै छ । यो म्यादी, लघुम्यादी र वैदेशिक रोजगार जीवन बीमालेखसहितको हो । गत आवको सोही अवधिमा भने ४३.१४ प्रतिशत जनसंख्यामा बीमाको पहुँच पुगेको देखिन्छ ।
प्राधिकरणका अनुसार म्यादी, लघुम्यादी र वैदेशिक रोजगार जीवन बीमा बाहेक गत माघसम्म १६.६६ प्रतिशत जनसंख्या मात्रै बीमाको दायरामा आएको देखिन्छ । अघिल्लो वर्षको माघसम्म १७.१२ प्रतिशत जनसंख्या बीमाको दायरामा आएका थिए । म्यादी, लघुम्यादी बिमालेखसहित भने गत माघसम्म ३६.१५ प्रतिशत जनसंख्या बीमाको दायरामा आएको देखिन्छ ।
माघसम्म कुल सक्रिय जीवन बीमालेखको संख्या भने १ करोड ४१ लाख ५३ हजार ८४८ वटा छन् । यस्तै कुल सक्रिय निर्जीवन बिमालेखको संख्या १८ लाख २१ हजार ९२७ रहेको छ । समीक्षा अवधिमा सक्रिय जीवन बीमालेखको संख्या २.६१ प्रतिशत तथा कुल निर्जीवन बीमालेखको संख्या ६.९८ प्रतिशतले बढेको छ । तर यस अवधिमा कुल जारी भएका जीवनबीमालेखको संख्या भने २०.४ प्रतिशतले घटेको प्राधिकरणले जनाएको छ ।