नेपाल भित्रियो कर्भ ईभी, मूल्य कति ?

काठमाडौं । नेपालका लागि भारतीय विद्धुतीय गाडी निर्माता टाटा ईभीको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले कर्भ ईभीको टप भेरियन्ट सार्वजनिक गरेको छ ।
काठमाडौंमा आयोजित ‘टाटा ईभी : चार्जज्ड फर द फ्युचर’ कार्यक्रममा सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटा मोटर्सका अन्तर्राष्ट्रिय बिजनेस हेड यश खंदेलवालले कर्भ ईभी सार्वजनिक गरेका हुन् ।
कम्पनीले टाटा कर्भ ईभीको टप भेरियन्ट मूल्य ५६ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।
कार्यक्रममा कर्भ ईभीका साथै टाटाका नयाँ गाडीहरू नेक्सन केथ्री ईभी र टियागो ईभी २०२५ को मोडल पनि नेपालमा डेलिभरी सुरु भएको घोषणा गरिएको छ ।
कार्यक्रममा टाटा पेसेन्जर इलेक्ट्रिक मोबिलिटी लिमिटेडका अन्तर्राष्ट्रिय व्यापार प्रमुख खंदेलवालले ‘टाटा ईभी : चार्जज्ड फर द फ्युचरल’ नेपालको समग्र ईभी इकोसिस्टमलाई सबल र सुदृढ गर्ने प्रति टाटाको प्रतिबद्धतालाई पुन: पुष्टि गर्ने बताए ।
कम्पनीको उद्देश्य भनेको नयाँ र गुणस्तरयुक्त उत्पादन मार्फत समग्र नेपाली यातायात प्रणालीको विद्युतीकरणको दिशामा सकारात्मक योगदान गर्नु रहेको उनको भनाइ छ ।
नेपालमा कर्भ ईभीको प्रवेशसँगै विशिष्ट प्रकारको अत्याधुनिक एसयूभी कुपे डिजाइनको सुरुवात भएको उनले बताए ।
प्रभावकारी रेन्ज र नयाँ प्रविधिले सम्पन्न यस गाडीले नेपाली अटो बजारमा ‘प्रिमियम मोबिलिटी’ लाई साँच्चै सम्भव बनाएको उनले बताए ।
कार्यक्रममा सिप्रदी ट्रेडिङका कार्यकारी अधिकृत श्रेष्ठले नेपालमा कर्भ ईभी टप भेरियन्ट भित्र्याउन पाउँदा उत्साहित भएको बताए ।
कर्भ ईभी डिजाइन, प्रिमियम फिल, सेफ्टी फिचर, उत्कृष्ट साउन्ड सिस्टम र सबैभन्दा महत्त्वपूर्ण नेपालको बाटोघाटोलाई सुहाउने प्रिमियम गाडी भएकोले प्रिमियम एसयूभी लिन खोज्ने ग्राहकको पहिलो रोजइमा पर्नेमा ढुक्क रहेको उनले बताए ।
के छन् विशेषता ?
कम्पनीका अनुसार कर्भ ईभी टप भेरियन्ट टाटा ईभीको उन्नत पियोर ईभी आर्किटेक्चर–एक्टी ईभीमा आधारित छ । यसमा ५५ किलोवाट आवरको ब्याट्री प्याक र ९८ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर रहेको छ ।
५०० लिटरको बुट स्पेस र १८६ एमएमको ग्राउन्ड क्लियरेन्स भएकोले नेपाली बाटोमा सजिलै आरामदायी यात्रा गर्न सकिने छ । नेपाली बाटोमा सजिलै ३८० किलोमिटरको रेन्ज पाउन सकिन्छ । यसमा एडीएस लेभल २ को क्षमता, ६ वटा एयरब्याग, अल-व्हिल डिस्क ब्रेक, अटो होल्ड, हिल स्टार्ट डिसेन्ट असिस्ट, ३६० डिग्री क्यामेरा, आई-भीबीएस सहितको ईएसपी रहेको कर्भ ईभीले सुरक्षा र आराम दुवैको स्तरलाई बढाउने कम्पनीले जनाएको छ ।
गाडीमा ३१.२४ सेन्टिमिटरको सिनेमाटिक टचस्क्रिन इन्फोटेन्मेन्ट, २६.०३ सेन्टिमिटरको डिजिटल ककपिट, भ्वाइस-असिस्टेड पानोरामिक सनरुफ, मल्टि-मुड एम्बियन्ट लाइटिङ, भेन्टिलेटेड सिट जस्ता विशेषताहरू रहेका छन् ।
यस एसयूभीमा सरल र सहज चार्जिङका लागि घरको भित्तामा जडान गर्न मिल्ने ७.२ किलोवाट एसी र डीसी फास्ट चार्जिङको सुविधा रहेको छ । जसबाट १०-८० प्रतिशत चार्ज ४० मिनेटमा पूरा हुने कम्पनीको दाबी छ ।