सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप मंगलबारदेखि, ३० प्रोफेसनल गल्फरहरू सहभागी हुने

काठमाडौं । सुर्य नेपाल गल्फ टुर २०२४-२५ को पाँचौं कार्यक्रम सुर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप मंगलबार गोकर्ण गल्फ क्लबमा सुरु हुँदैछ । ७२ होलमा खेलाइने प्रतियोगिता २८ फेब्रुअरीमा समापन हुनेछ ।
३० प्रोफेसनल गल्फरहरू सहभागी हुने च्याम्पियनसिपमा ३६ हलहरू पूरा गरेपछि कट लागू गरिनेछ, शीर्ष २१ मा पर्ने प्रो र टाईहरूसँगै प्रो कट सरभाइभ गर्ने शीर्ष एमेच्योरहरूले अन्तिम ३६ होलको यात्रा तय गर्नेछन् ।
च्याम्पियनसिपको कुल पुरस्कार राशी ८ लाख ८२ हजार रहेको छ । विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख र तेस्रोले ७५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । शीर्ष २१ मा पर्नेले पनि पुरस्कार प्राप्त गर्नेछन् ।
प्रोफेसनलहरू भुवन नगरकोटी, निरज तामाङ, रवि खड्का, दिनेश प्रजापति, जयराम श्रेष्ठ, धन थापा र सञ्जय लामाले आगामी केही दिन उच्चस्तरीय गल्फ प्रदर्शन गर्ने अपेक्षा गरिएको छ । उनीहरूले शीर्ष वरियताका एमेच्योर सदभाव आचार्य र राहुल विश्वकर्माको कडा चुनौती सामना गर्नेछन्।
एनपीजीएका अध्यक्ष रवीन्द्रमान श्रेष्ठले खेलको स्तर बढ्दै गएको र यस वर्षको प्रदर्शन एमेच्योर र प्रोफेसनल दुवैतर्फबाट निकै राम्रो र रोचक प्रदर्शन भइरहेको उल्लेख गरे ।
‘खेलको विकासका लागि उत्कृष्ट प्रतिस्पर्धा भएको छ। सुरुमै म हाम्रो प्रायोजक सुर्य नेपाल प्रालिलाई प्रायोजनलाई निरन्तरता दिनु भएकोमा हार्दिक आभार व्यक्त गर्दछु’ उनले भने ।