पशुपति जाँदै हुनुहुन्छ ? थाहा पाइराख्नुस् बन्द गरिएका सडक र पार्किङस्थल

काठमाडौं । आज पशुपति दर्शनका लागि जाँदै जानुहुन्छ वा अन्य कुनै कामले त्यो बाटोको यात्रा गर्नुपर्ने छ भने सवारी रुटबारे थाहा पाउनुहोस।
शिवरात्रि पर्वमा दर्शनार्थीको चापलाई ध्यानमा राखेर नेपाल प्रहरीले विभिन्न रूटहरूको आवागमन बन्द गरेको छ।
शिवरात्रि पर्वका कारण पशुपति क्षेत्रमा दर्शनार्थी र भक्तजनको संख्या बढ्ने भएकाले आसपासका सडक प्रहरीले बन्द गराएको हो। कतिपय सडकमा सवारी डाइभर्सन गरिएको छ।
नेपाल प्रहरीकाअनुसार बुधबारका लागि चाबहिलबाट गौशाला हुँदै पुरानो बानेश्वरतर्फ जाने मूल सडक बन्द गरिएको छ। त्यस्तै रातोपुल–तिलगंगा खण्ड पनि बन्द गरिएको छ।
मित्रपार्क–गौरीघाट, सिफल–जयबागेश्वरी, गोल्डेनगेट कलेज, काभ्रेडेरी, भीमसेन गोला, सिनामंगल हुँदै गौशालातर्फ आउने भित्री सडकहरू पनि आजका लागि बन्द गरिएको छ। त्यस्तै चाबहिल चोकबाट दक्षिणतर्फ जाने सबै सहायक बाटाहरू पनि बन्द गरिएको प्रहरीले जानकारी दिएको छ।
त्यस्तै शिवरात्रि पर्वकै लागि नेपाल प्रहरीले पार्किङकोसमेत व्यवस्थापन गरेको छ।
सहज रुपमा सवारी आवागमनको व्यवस्था मिलाउन करिडोर सडक र भित्री सडकहरुमा समेत ट्राफिक प्रहरी खटाइएको छ।
पार्किङ कहाँ गर्ने ?
सिफल चौर, गुह्येश्वरीपारि, पशुपति क्षेत्र विकास कोषको कार्यालय, भण्डारखाल, अमालकोट, तिलगंगा करिडोर र सुरक्षा निकायका सवारीका लागि महानगरीय प्रहरी वृत्त गौशलामा राख्ने व्यवस्था मिलाइएको छ ।
यस्तै दर्शनार्थी एवम् भक्तजनका सवारी साधनको पार्किङ्ग तिलगङ्गा आँखा अस्पताल अगाडि, सिफलचौर र गुहेश्वरीपारि करिडोर सडकमा मिलाइएको छ । वनकाली क्षेत्रमा दमकल, एम्बुलेन्स र खानेपानीका ट्यांकरहरु पार्किङ्ग हुने छन् ।
त्यसैगरी कोषको कार्यालय र सिफलचौरमा पासवाहक सवारी साधन र प्रहरी वृत्त गौशालामा सुरक्षाकर्मीका सवारी साधनलाई पार्किङको व्यवस्था मिलाइएको छ ।
सादा पोशाकमा समेत ट्राफिक प्रहरी
सहज रुपमा सवारी आवागमनको व्यवस्था मिलाउन करिडोर सडक र भित्री सडकहरुमा समेत ट्राफिक प्रहरी खटाइएको छ ।
सम्भावित सवारी साधन चोरी नियन्त्रण तथा निगरानीका लागि सादा पोसाकसमेतमा ट्राफिक प्रहरी परिचालन गरिएको छ तर आफ्नो सवारी साधनलाई सुरक्षित स्थानमा राख्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।
शिवरात्रि पर्वको अवधिभर भक्तजनलाई सरल एवं सहजरूपमा आवागमनको व्यवस्था मिलाउन प्रहरी नायब उपरीक्षकको कमान्डमा कमाण्ड सेन्टर राखी ८९० जना ट्राफिक प्रहरी प्रत्यक्ष परिचालन गरिएको छ ।
सवारी साधनको चापलाई मध्यनजर गर्दै थप प्रहरीसमेत खटाइने ट्राफिक प्रहरीका प्रवक्ता सञ्जयबहादुर राउतले जानकारी दिए ।