सूचना बेचेको प्रमाणसहित पुष्टि गर्न सूचनाको हकका लागि राष्ट्रिय महासङ्घको आह्वान

काठमाडौँ । सूचनाको हक र सूचनाको हकका अभियानकर्मीका बारेमा तथ्य, आधार एवं प्रमाणहीन विषयलाई समेटेर केही सञ्चारमाध्यममा प्रकाशित भएको समाचारप्रति सूचनाको हकका लागि राष्ट्रिय महासङ्घको गम्भीर ध्यानाकर्षण भएको छ ।
विसं २०८१ फागुन ५ गतेको जनआस्था साप्ताहिकको अनलाइन संस्करणमा ‘देशका सूचना तानेर कसले विदेशीलाई दिँदैछन् ?’ शीर्षकमा प्रकाशित समाचारमा यस महासङ्घका पदाधिकारी र अभियानकर्मीलाई जोडेर प्रकाशित भएको प्रमाणहीन समाचारप्रति महासङ्घको गम्भीर ध्यानाकर्षण भएको महासंघका अध्यक्ष उमीद बागचन्द र महासचिव पूर्णप्रसाद मिश्रले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । महासङ्घसँग आबद्ध जोसुकैले सूचना माग गरेर विदेशीलाई बेचेको प्रमाण भए महासङ्घमा बुझाउन पनि आह्वान गरिएको छ ।
महासङ्घ स्वयंसेवी संस्था हो । यहाँ आबद्ध भएर काम गर्ने अभियानकर्मीले सुशासन प्रवद्र्धन, पारदर्शिता र जवाफदेहिताका माध्यमबाट लोकतन्त्रको सुदृढीकरणमा काम गरिरहेका छन् । यस्ता अभियानकर्मीलाई लाञ्छित गर्ने गरी आएको समाचारको सत्यता पुष्टि गर्न महासङ्घ अनुरोध गरेको विज्ञिप्तिमा उल्लेख छ ।
सूचनाको हकका लागि राष्ट्रिय महासङ्घ संविधान, ऐन, नियमावली अनुसार सूचनाको हकको संरक्षण, संवद्र्धन र प्रवद्र्धनमा क्रियाशील संस्था हो । देशभर करिब ४५ जिल्लामा महासङ्घको जिल्ला कार्य समिति गठन भई काम गरिरहेका छन् । देशभर हजारौँ सूचनाको हकका अभियानकर्मी सार्वजनिक सरोकारका सूचना माग गर्न सक्रिय छन् ।
अभियानकर्मीले सार्वजनिक सरोकारका सूचना माग गरेकै कारण सुधार भएका क्षेत्र पनि धेरै छन् । भ्रष्टाचार, अनियमितता भएका विषयमा सूचना माग गरेर ती निकायलाई पारदर्शी र जवाफदेही बनाउन अभियानकर्मीले काम गरिरहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।