स्वदेशी उद्योगलाई संरक्षण, अब आयातीतभन्दा स्वदेशी वस्तु सस्तो हुने |
काठमाडौं । सरकारले स्वदेशमा उत्पादन भई आत्मनिर्भर रहेका खाद्यवस्तुको आयातमा भन्सारदर वृद्धि गर्ने नीति लिएको छ । यसबाट अब आयातित तयारी खाद्यवस्तुको मूल्य बढ्ने छ ।
आगामी आर्थिक वर्ष २०७६∕७७ को बजेटमार्फत सरकारले स्वदेशमै उत्पादन हुने र मुलुक आत्मनिर्भर रहेका कृषि तथा औद्योगिक उत्पादनको आयातमा लाग्ने भन्सार दर बढाएको हो । यसले गर्दा आयातित चिया, कफी, दूग्ध पदार्थ, घ्यू, कुखुराको मासु, केराउ, बदाम, आलुचिप्सको मूल्य बढ्ने भएको छ । साथै नेपालमा आयात हुने बिस्कुट, चाउचाउ, आइसक्रिम, जुस, मिनरल वाटर, चिनी तथा सख्खर, चकलेट, पास्ता र चुइङगमको मूल्य पनि अब बढ्नेछ ।
एकातर्फ स्वदेशी उत्पादनले बजार नपाउने, उत्पादित वस्तु पनि सस्तो मूल्यमा आयातित सामानका कारण प्रतिस्पर्धी नबन्ने समस्याका कारण स्वदेशी उद्योगी समस्यामा थिए । खाद्यान्नबाहेक मुलुक आत्मनिर्भर रहेका औद्योगिक उत्पादनको आयातमा पनि सरकारले भन्सार दर बढाएको छ ।
सरकारको निर्णयअनुसार अब आयात हुने जस्तापाता, जुत्ता, चप्पल, धागो, त्रिपालजस्ता वस्तुको आयातले यी वस्तुको मूल्य बढ्ने भएको छ । कृषिजन्य तथा औद्योगिक वस्तुको स्वदेशी उत्पादनलाई संरक्षण गर्न आयात भन्सार दर बढाइएको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।
स्वास्थ्यका लागि हानिकारक वस्तुको मूल्य पनि अब बढ्दैछ । बजेटले मदिरा, चूरोट, अन्य सूर्तिजन्य पदार्थ र स्वास्थ्यका लागि हानिकारक वस्तुमा लाग्दै आएको भन्सार तथा अन्तशूल्क बढाएको छ । जसले गर्दा यस्ता पदार्थको सेवन गर्ने व्यक्तिको खर्च बजेटले बढाइदिएको छ ।
सरकारले बजेटमार्फत स्वदेशी उद्योगको प्रवद्र्धन हुने खालका औद्योगिक मेशिनरी तथा यन्त्र उपकरणको भन्सार महसुल दर घटाएको छ । खासगरी कपडा, धागो, चिया, आधारभूत औषधि, महिलाले प्रयोग गर्ने स्यानटरी प्याड, फिड सप्लीमेन्टजस्ता उद्योगको संरक्षण र प्रवद्र्धन गर्न यस्तो निर्णय भएको अर्थमन्त्री डा. खतिवडाले बताए ।
नेपालबाट निर्यात हुने सामग्रीमध्ये मदिरा, सूर्तिजन्य वस्तु, स्वेदेशमा खपत हुने कच्चा पदार्थ तथा आधारभूत कृषि उपज बाहेकका मालवस्तुको निकासीमा लाग्ने महसुल हटाइएको छ । जसले गर्दा निर्यातजन्य उद्योग फस्टाउने अपेक्षा सरकारको छ । विदेशबाट आउने नेपाली यात्रुले १ सय ग्रामसम्मको सुनको गहना महसुल तिरेपछि भित्राउन पाउने व्यवस्था बजेटले मिलाएको छ ।
यस्तै नविनतम सोच लिएर खुलेका व्यवसायी अब करको दायरामा आउनुपर्ने भएको छ । उनीहरुलाई करको दायरामा आउन आगामी पुस मसान्तसम्मको समय दिइएको छ । त्यसरी करको दायरामा आए २०७५∕७६ भन्दा अघिको कर, जरिवाना, थप दस्तुर, शूल्क तथा ब्याज मिनाहा हुने अर्थमन्त्री डा. खतिवडाले उल्लेख गरे । यसबाट टुटल, पठाओजस्ता नयाँ व्यवसाय पनि अब करको दायरामा आउनुपर्ने भएको छ ।