वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या आधा घट्यो |
काठमाडौं । विदेश जाने नेपालीको संख्या आधा भन्दा बढीले घटेको छ । सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा यो वर्षको फागुनसम्म एक लाख ४२ हजार ८२८ जना नेपाली वैदेशिक रोजगारीको लागि गएका छन् ।
गत आर्थिक वर्षमा भने तीन लाख ६१ हजार ९४१ जना नेपाली वैदेशिक रोजगारीको लागि गएका थिए । गत वर्ष औसतमा मासिक ३० हजार नेपाली विदेश कामका लागि जान्थे । यो वर्ष भने मासिक औसत १७ हजार नेपाली मात्रै वैदेशिक रोजगारीमा गएका थिए । पछिल्लो समय मलेसियाको रोजगारी बन्द हुँदा विदेशीने कामदारको संख्यामा कमी आएको हो ।
कामदार पठाउँदा अतिरिक्त रकम लिएको भन्दै नेपालले ती संस्थालाई कारवाही गरेपछि एक वर्षदेखि मलेसियामा नेपाली कामदार गएका छैनन्। पहिलेनै डिमान्ड लेटर ल्याएका कामदार मात्रै गएका हुन्। चालु वर्षको ८ महिनामा दुई हजार ६५१ मात्रै मलेसिया गएका छन्। गत आर्थिक वर्षमा मलेसिया जाने नेपालीको संख्या एक लाख एक हजार १६८ जना रहेको थियो ।