वित्तीय कारबाहीसम्बन्धी मार्गदर्शन जारी

काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारका सहभागीहरूका लागि लक्षित गरी वित्तीय कारबाहीसम्बन्धी मार्गदर्शन जारी गरेको छ। बोर्डले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण नियमावली, २०८१ को नियम ६९ को उपनियम (३) बमोजिम मार्गदर्शन जारी गरिएको जनाएको छ।
मार्गदर्शनअनुसार नेपाल सरकार, गृह मन्त्रालयको वेबसाइटमा सार्वजनिक संयुक्त राष्ट्रसङ्घद्वारा प्रतिबन्धित व्यक्ति, समूह वा सङ्गठन कारोबारमा संलग्न छन् कि छैनन् भनी धितोपत्र बजार सहभागीले एकिन गर्नुपर्नेछ। साथै, सोसँग सम्बद्ध व्यक्ति वा समूह धितोपत्र कारोबारमा संलग्न भए/नभएको नियमित रूपमा अद्यावधिक प्रणालीमार्फत निगरानी गर्नुपर्ने व्यवस्था गरिएको छ।
मार्गदर्शनमा कुनै प्रतिबन्धित व्यक्ति वा समूहको सम्पत्ति वा कोष धितोपत्र बजार सहभागीसँग भएमा तत्काल उक्त सम्पत्ति रोक्का राख्नुपर्ने प्रावधान छ। साथै, आतङ्ककारी गतिविधि वा आमविनाशका हातहतियार निर्माण तथा विस्तारमा वित्तीय लगानी निवारणसम्बन्धी व्यवस्था पालन गर्नुपर्ने उल्लेख गरिएको छ।
त्यसैगरी, शङ्कास्पद वित्तीय कारोबार भएका व्यक्तिसम्बन्धी विवरण वित्तीय जानकारी इकाईमा अनिवार्य रूपमा रिपोर्टिङ गर्नुपर्ने व्यवस्था मार्गदर्शनमा समावेश गरिएको छ।