राष्ट्रिय वाणिज्य बैंकद्धारा ९७ जना नवनियुक्त कर्मचारीलाई पूर्व सेवाकालिन तालिम प्रदान

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोक सेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट कोशी, मधेश र बागमती प्रदेशका लागि प्रदेशगत रुपमा छनौट भएका नवनियुक्त सहायक (प्रशासन सेवाका) ९५ जना र बरिष्ठ सहायक स्तरका २ जना गरी जम्मा ९७ जना कर्मचारीहरुलाई चौध दिने पूर्व सेवाकालिन तालिम काठमाडौंमा सञ्चालन गरिरहेको छ ।
तालिमको उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले बैंक प्रति जनताको विश्वास रहेको र त्यस विश्वासलाई जोगाईराख्न फ्रन्टलाइनमा बस्ने कर्मचारीहरूले सदैव जिम्मेवार भएर सेवा दिनुपर्ने बताए ।
विभिन्न प्रक्रिया पश्चात् बैंकले युवा कर्मचारीहरूलाई नियुक्ति दिएको बताउँदै उनले बैंकिङ क्षेत्रमा भएको बढ्दो जोखिमलाई न्यूनीकरण गरी कार्य गर्नुपर्ने बताए ।
कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृतहरू सरस्वती अधिकारी र देवेशप्रसाद लोहनीले नवनियुक्त कर्मचारीहरूलाई कार्यस्थलमा जिम्मेवारी बहन गर्दा अपनाउनुपर्ने कर्तव्य बोध गराएका थिए ।
कार्यक्रममा मानव संसाधन विभागका विभागीय प्रमुख भीमप्रसाद घिमिरेले नवनियुक्त सहायक तथा वरिष्ठ सहायक ९७ जना कर्मचारीहरूलाई बैंकको कर्मचारी सेवा विनियमावली बमोजिम शपथ गराए ।