स्वदेशी उद्योगलाई संरक्षण गर्ने नीतिले उद्योगी व्यवसायी खुशी |
काठमाडौं । बजेटमा राजस्वमा नरम नीति लिँदै स्वदेशी उद्योगलाई संरक्षण गर्ने व्यवस्थाले उद्योगी सकारात्मक छन्। नेपाल उद्योग वाणिज्य महासंघका निर्वतमान अध्यक्ष पशुपति मुरारकाले स्वदेशी उद्योग संरक्षण गर्नेगरि बजेट आएको बताएका छन् । । स्वदेशी उद्योग संरक्षणका लागि आयात गर्ने औद्योगिक कच्चा पदार्थहरुको भन्सार दर तयारी मालवस्तुको भन्दा एक तह कम गर्ने घोषणा गरिनु सकारात्मक रहेको उनले बताए ।
मुरारकाका अनुसार कर पुनरावलोकनका लागि ३३ प्रतिशत धरौटी राख्नुपर्ने व्यवस्थालाई २५ प्रतिशत झार्ने निर्णय सकारात्मक हो । मुरारकाले वन्डेड वेयर हाउसको सुविधा ५० प्रतिशत निर्यात गर्ने उद्योगलाई घटाएर २० प्रतिशतमा झार्ने निर्णय पनि सकारात्मक रहेको बताए । त्यसैगरी नेपाल उद्योग परिसंघका अध्यक्ष सतीश मोरले स्वदेशी उद्योगलाई संरक्षण गर्ने नीति बजेटले लिएको बताए । धेरै पहिले देखि आफुहरुले माग गर्दै आएको कुरा यसपालीको बजेटले सम्बोधन गरेको बताए ।
बजेटले औद्योगिक गतिविधिलाई सहयोग पुर्याउने प्रतिक्रिया विराटनगरका व्यवसायीले व्यक्त गरेका छन्। पहिले बन्डेड वेयर हाउसको सुविधा ५० प्रतिशत निर्यात गर्ने उद्योगले मात्र पाउनेमा यो बजेटले २० प्रतिशत बनाएको मोरङ व्यापार सङ्घका अध्यक्ष पवनकुमार शारडाले बताए । सरकारी खरिदमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्ने बूँदा पनि स्वागतयोग्य भए पनि कार्यान्वयनलाई प्रभावकारी बनाइनुपर्ने उनको भनाई छ ।
नेउवा महासङ्घका पूर्व केन्द्रीय सदस्य शङ्करलाल अग्रवालले बजेटले सबै पक्षलाई समेट्न खोजेको बताउँदै प्रति व्यक्ति आयमा साढे आठ प्रतिशतको वृद्धि महत्त्वाकांक्षी भएको जिकिर गरे । व्यवसायी अग्रवालले विलासिताका र आत्मनिर्भर भइसकेका वस्तुको पैठारीलाई निरूत्साहन गर्नु बजेटको मुख्य विशेषता भएको औँल्याए । तयारी वस्तु र त्यसको कच्चा पदार्थको पैठारीमा कम्तीमा १५ प्रतिशतको फरक हुनु आवश्यक रहेको भए पनि बजेटले ५ प्रतिशतको मान्यता बनाएको प्रति उद्यमीहरू दुःखी भएको उनको प्रतिक्रिया थियो ।
व्यापार सङ्घका वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडाले सबै नेपालीलाई स्वास्थ्य विमामा जोड्न खोज्नु र भूमि बैङ्कको कार्यक्रम ल्याउनु बजेटको राम्रो पक्ष रहेको बताए ।