सेयर बजारमा एनआरएन भित्र्याइने, सबै काम विद्युतीय प्रणालीबाट गरिने |
काठमाडौं । नेपाल धितोपत्र बोर्ड र नेप्सेको संस्थागत सुधार गर्ने विषयलाई बजेटमा समावेश गरिएको छ । गैर आवासीय नेपालीले पनि सेयर बजारमा लगानी गर्न सक्ने गरी पुँजी बजारलाई थप फराकिलो र आधुनिक बनाइने कुरा बुधबार संघीय संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा। युवराज खतिवडाले बताए ।
सेयर बजारको सम्पूर्ण कारोबार विद्युतीय प्रणाली मार्फत गरिने भएको छ । सबै प्रकारका धितोपत्र र ऋणपत्र कारोबार विद्युतीय प्रणालीमार्फत गर्ने खतिवडाले बताए । यसका लागि नेसनल पेमेन्ट गेट वेको व्यवस्था गरिने समेत बजेटमा उल्लेख छ ।
सरकारले विद्युतीय कारोबार प्रणालीलाई सुरक्षित र पारदर्शी बनाउने भएको छ । सरकारी ऋणपत्र खरिद विक्रीका लागि पनि अनलाइन प्रणालीको विकास गर्ने अर्थमन्त्रीले बताएका छन् । सेयर बजारमा निश्चित रकमभन्दा बढी कारोबार गर्ने लगानीकर्ताको स्थायी लेखा नम्बर (प्यान) सहितको विवरण नेप्से र सीडीएससीको राफसाफ प्रणालीमा आवद्ध गरिने अर्थमन्त्री खतिवडाले बजेटमा उल्लेख गरेका छन् ।
कर्मचारी सञ्चयकोष, नगारिक लगानी कोष र निक्षेप तथा कर्जा सुरक्षण कोषको वित्तीय विवरण एकीकृत रुपमा प्रकाशन गर्ने व्यवस्था गरिने भएको छ । कर्जा सूचना तथा सुरक्षित कारोबार ऐनमा परिमार्जन गरिने बजेटमा अर्थमन्त्रीले उल्लेख गरेका छन् । सामूहिक लगानी कोषको कारोबार तथा सीडीएससीको कारोबारलाई व्यवस्थित बनाइनेछ ।