ओम मेगाश्री फर्मास्यूटिकल्सको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौँ । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडको प्राथमिक शेयर (आईपीओ) मा आजदेखि आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको थियो । जुन आईपीओमा आज कार्यालय समयसम्म मात्र आवेदन दिन सकिने छ ।
कम्पनीले आफ्नो जारी पूँजी ६० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता शेयर आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये १० प्रतिशतले हुन आउने १ करोड ८० लाख रुपैयाँ बराबरको १ लाख ८० हजार कित्ता शेयर श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको हो ।
कम्पनीले ५ प्रतिशतले हुन आउने ९० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र ३ प्रतिशतले हुन आउने ५४ हजार कित्ता शेयर कम्पनीका कर्मचारीहरुलाई छुट्याएको छ। वैदेशिक रोजगारीमा रहेकाको लागि बाँडफाँड गरेपश्चात बाँकी रहेको १४ लाख ७६ हजार कित्ता शेयर कम्पनीले सर्वसाधारणका लागि निष्काशन गर्ने कम्पनीले जनाएको छ।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाईन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।
आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।