ऊर्जामन्त्री खड्का र भारतका जलशक्ति मन्त्रीबीच भेट, पञ्चेश्वरलाई अगाडि बढाउनेबारे छलफल

काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्का र भारतका जलशक्तिमन्त्री सीआर पाटिलबीच भेटवार्ता भएको छ ।
‘इण्डिया इनर्जी वीक–२०२५’ मा भाग लिन भारतको नयाँदिल्ली पुग्नुभएका मन्त्री खड्काले भारतका समकक्षी पाटिलसँग श्रमशक्ति भवन नयाँदिल्लीमा भेटवार्ता गरेका हुन ।
भेटमा पञ्चेश्वर बहुउदेश्यीय आयोजनाको डिपिआर चाँडो फाइनल गरेर आयोजना अघि बढाउने सहमति भएको भेटमा सहभागी उर्जा मन्त्रालयका वरिष्ठ उर्जा विज्ञ प्रवल अधिकारीले जानकारी दिए ।
भेटमा टनकपुरदेखि नेपाल–भारत सिमानासम्मको लिङ्क नहर निर्माण सम्पन्न भइसकेको तर पानी सञ्चालन कार्यविधि चाँडै अन्तिम रुप दिई महाकाली सन्धीअनुसार पानी छाड्ने सहमति भएको छ । यस्तै, वाढी र डुवान व्यवस्थापनको लागि संयुक्त समितिको १४ औँ वैठक आगामी मार्च २२ देखि २४ सम्म गर्ने र यसका लागि मन्त्रालयबाट औपचारिक पत्राचार गर्ने सहमति भएको छ ।
यसैगरी सप्तकोशी बहुउदेश्यीय आयोजनाको डिपिआर सम्बन्धमा पनि दुई पक्षीय बैठकहरुमार्फत छलफल अगाडि बढाउने सहमति भएको छ । उर्जामन्त्री खड्काले गत ५ नोभेम्बरमा भएको भेटघाट र छलफलले दुई देशको सहकार्यमा जलश्रोतको क्षेत्रमामा महत्वपूर्ण कार्यहरुका लागि अघि बढ्न थप हौसला प्रदान गरेको स्मरण गरे ।
भेटमा भारतका जलशक्तिमन्त्री पाटिलले पञ्चेश्वर आयोजनाको डीपीआरलाई चाँडो अन्तिम रुप दिन र उक्त आयोजनालाई चाँडो अगाडि बढाउन भारत सरकार सकारात्मक रहेको बताएका छन् ।
भेटमा मन्त्री खड्कासँगै मन्त्रालयका सचिव सुरेश आचार्य, वरिष्ठ उर्जाविज्ञ प्रवल अधिकारी, मन्त्रालयका सहसचिव सन्दिपकुमार देव, मन्त्री खड्काका आर्थिक सल्लाहकार अमित श्रेष्ठलगायत सहभागी थिए ।