सार्वजनिक यातायात चुस्त र वातावरणमैत्री बनाउन मन्त्री दाहालको जोड
![Clipboard02 Clipboard02](https://www.arthikpati.com/wp-content/uploads/2025/02/Clipboard02-11-1024x576-1600x900.jpg)
काठमाडौ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सार्वजनिक यातायातलाई चुस्त र वातावरणमैत्री बनाउन जरुरी रहेको बताए ।
बुधबार एशियाली विकास वैंक र मन्त्रालयको आयोजनामा काठमाडौमा भएको उच्च गुणस्तरको सहरी सार्वजनिक यातायातका बारेमा भएको कार्यक्रममा उनले यातायातबाट प्राप्त हुने उपलव्धीलाई आर्थिक विकाससँग जोड्न जरुरी रहेको पनि बताए । नेपालको सार्वजनिक यातायातका क्षेत्रमा निजी क्षेत्रको उल्लेखनीय योगदान र भुमिका रहेको भन्दै उनले सार्वजनिक–निजी साझेदारी (पीपीपी) मार्फत अझ स्तरीय र पहुँच योग्य बनाउन सकिने समेत बताए । यातायात क्षेत्रका साथै पूर्वाधार विकासमा समेत निजी क्षेत्रको सहभागीता स्वागतयोग्य रहने उनको भनाई छ ।
यातायात क्षेत्रका सम्वन्धमा संघीय सरकारले नीतिगत व्यवस्था र समन्वयको कार्य गर्ने एवम् व्यवस्थापनका लागि प्रदेश तथा स्थानीय सरकारको भुमिका महत्वपूर्ण रहेने मन्त्री दाहालले उल्लेख गरे । यातायात क्षेत्रमा स्वच्च उर्जा तथा ईन्धनको उपयोगलाई सरकारले प्रोत्साहन गरि रहेको भन्दै उनले यसका लागि चाहिने चार्जिङ् स्टेशन, पार्किङ्, मर्मत लगायतलाई पनि थप व्यवस्थित बनाउन जरुरी रहेको उल्लेख गरे ।
कार्यक्रममा मन्त्रालयका सचिव केशवकुमार शर्माले शहरीकरण र शहर विस्तार नियमित प्रकृया रहेको उल्लेख गर्दै यसलाई रोक्न नसकिने बताए । तर शहरीकरणको विस्तार र विकासलाई व्यवस्थित गर्न सार्वजनिक यातायात व्यवस्थित र पहुँचयोग्य बनाईनु पर्नेमा जोड दिए ।