वृद्धभत्ता बढ्यो, मासिक तीन हजार रूपैयाँ पाइने |
काठमाडौं । जेष्ठ नागरिकलाई दिइने सामाजिक सुरक्षा भत्ता मासिक एक हजार रूपैयाँ वृद्धि भएको छ । अर्थमन्त्री युवराज खतिवडाले बुधबार आर्थिक वर्ष २०७६∕०७७ को बजेट भाषण गर्दै ७० वर्षमाथिका नागरिकलाई अहिले दिइँदै आएको मासिक २ हजारमा एक हजार रूपैयाँ थप गरेको बताए ।
गर्भदेखि वृद्धअवस्थासम्म सामाजिक सुरक्षाका लागि सरकारले सहयोग गर्ने उनले बताए । वृद्धवृद्धालाई निːशुल्क बीमाका कार्यक्रम लागू हुने उनको भनाइ छ । सामाजिक सुरक्षाबाट देशभरका १३ लाख जेष्ठ नागरिकले सेवा पाउँछन् ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अनुसार सामाजिक सुरक्षा भत्ता पाउनेको संख्या अहिले २७ लाख ५६ हजार ४ सय ५५ छ । ७० वर्षमाथिका वृद्धवृद्धाको संख्या १२ लाखको हाराहारीमा छ भने विधवा तथा एकल महिलाको संख्या ८ लाखको हाराहारीमा छ । कर्णाली तथा लोपोन्मुख, अशक्त र बालबालिकाको संख्या ६ लाखभन्दा बढी छ ।
सरकारले अहिले ७० वर्ष नाघेका वृद्धवृद्धालाई एक हजार जेष्ठ नागरिक भत्ता र एक हजार उपचार खर्च उपलब्ध गराउँछ । सरकारले विधवा, एकल महिला, पूर्ण अपाङता, अति अशक्त र अपाङ र पाँच वर्ष उमेर ननाघेका देशभरिका दलित परिवारका एक आमाका बढीमा दुई बालबालिकालाई क्रमशː एक हजार, एक हजार, २ हजार, ६ सय र ४ सय रुपैयाँ मासिक भत्ता दिने गरेको छ ।