रसायनिक मल खरिदमा दिंदै आएको अनुदान ५० प्रतिशतले बढ्यो, युवालाई खेतीमा प्रोत्साहन गरिने |
काठमाडौं । सरकारले रसायनिक मल खरिदमा दिइँदै आएको अनुदान ५० प्रतिशतले बढाएको छ । आगामी आर्थिक वर्षको बजेटबाट कार्यान्वयन हुने गरी मल खरिदमा दिइँदै आएको अनुदान बढाउने अर्थमन्त्री डा. युवराज खतिवडाले घोषणा गरेका छन् ।
मल खरिदमा अब ९ अर्ब रुपैयाँ अनुदान उपलब्ध हुनेछ । यसअघि ६ अर्ब रुपैयाँ अनुदान मल खरिदका लागि दिइँदै आएको थियो । यसैगरी उखु किसानलाई अनुदान दिन ९५ करोड रुपैयाँ विनियोजन गरिएको खतिवडाले बताए । फलफूल उत्पादन पाँच वर्षमा दोब्बर बनाइने खतिवडाले उल्लेख गरे ।
सबै प्रदेशमा नमुना औद्योगिक कृषि फार्म स्थापना गर्न प्रोत्साहन गर्ने खतिवडाले बताए । वैदेशिक रोजगारीबाट कृषि सीप सिकेर फर्केका युवालाई अर्गा्निक खेतीमा प्रोत्साहन गर्ने घोषणा बजेटमा गरिएको छ ।
कृषकलाई आफ्ना उत्पादनको बजार मूल्य थाहा दिन मोबाइल एप्स सञ्चालन गरिने खतिवडाले घोषणा गरेका छन् ।