कृषिलाई पहिलो सम्मानजनक पेशा बनाउनुपर्नेमा जोड
![475928372_909112194635337_6428099227384256493_n 475928372_909112194635337_6428099227384256493_n](https://www.arthikpati.com/wp-content/uploads/2025/02/475928372_909112194635337_6428099227384256493_n-1024x577-1632x920.jpg)
काठमाडौं । जननेता विश्वेश्वरप्रसाद –विपी) कोइरालाले जस्तै हलो जोतको फोटो भितामा टाँंस्ने वातावरण वनाउनुपर्नेमा एक कार्यक्रममा सहभागीहरुले जोड दिएका छन् । त्यसका लागि कृषिलाई पहिलो सम्मानजनक पेशा बनाउनुपर्नेमा उनीहरुले जोड दिए ।
बिपी चिन्तन प्रतिष्ठान नेपाल केन्द्रिय समितिले देशको सातै प्रदेशमा गरेको निचोडमा आधारित विश्लेषण प्रस्तुत गर्न ‘नेपालमा कृषि क्रान्ति: चुनाती र सम्भावना’ विषयमा सोमबार राजधानीमा गरेको राष्ट्रिय कार्यशाला गोष्ठीका सहभागीहरुले यस्तो कुरामा जोड दिएका हुन् ।
कार्यक्रमको उदघाटन गर्दै कृषि विकास तथा पशुपंक्षी मन्त्री रामनाथ अधिकारीले छिटै कृषिमा लगानी वर्ष घोषणा हुने जानकारी गराए । उनले कृषि ऐन ल्याउन लागिएको पनि जनाए । यसका लागि तयारी अन्तिम चरणमा पुगेको उनले जनाए । साथसाथै उनले कृषि नीति २०६१ लाई परिमार्जन गर्ने तयारी रहेको पनि जानकारी गराए ।
नेपाल परम्परागत अर्थतन्त्रकै वरिपरि घुमिरहेको छ तर पनि कृषितिर सरकारको विशेष ध्यान जान सकेको छैन, आयोजक संस्थाका अध्यक्ष हरिबोल भटराईले भने । कार्यक्रमका अन्य वक्ताहरुले नेपाली सामाजमा आफूभन्दा सानालाई आर्शिवाद दिंदा डाक्टर, इन्जिनियर भएस् भनेर दिने तर कसैले पनि किसान भएस् भनेर नदिने भन्दै यसतिर गम्भीर हुनुपर्ने बताए । कसैलाई गाली गर्दा पनि दुःख पाउछ्स तैले, भौलिपर्सि हलो जोतेर खाने भइस् भनेर किसानी पेशालाई दुःख पाउने पेशाको रुपमा भाष्य निर्माण गरिएको उनीहरुले बताए । त्यसकारण किसान भएकै नाताले सिंहदरवारमा सहजै प्रवेश, वैंकमा लाइन वस्न नपर्ने, किसानलाई सम्मान गर्नेलगायतका वातावरण तयार गरी किसानी पेशालाई सम्मानको पेशा बनाउनुपर्नेमा जोड दिइयो । कार्यक्रममा तीन वटा कार्यपत्रहरु प्रस्तुत गरिएका थिए ।