तातोपानी नाका संचालनमा आयो, व्यवसायी उत्साहित |
काठमाडौं । ४ वर्ष अघि भूकम्पले दुबै तर्फको भौतिक संरचनामा क्षति पुर्याएपछि बन्द रहेको तातोपानी नाका आजबाट संचालनमा आएको छ । ०७२ साल वैशाख १२ को विनाशकारी भूकम्पपछि चीनले एकतर्फी बन्द गरेको नाका बुधवार बिहान दुई देशका उच्च अधिकारी सम्मिलित एक कार्यक्रमबीच खुला भएको हो ।
नेपाल र चीन जोड्ने मितेरी पुलमा उद्योगमन्त्री मात्रिका यादव र चीनको स्वशासित क्षेत्र तिब्बत सरकारका उपमन्त्री तथा चिनियाँ राजदूतको उपस्थितिमा उन बोकेका चारवटा ट्रक नेपालतर्फ पठाइ उद्घाटन गरिएको हो । नाका खुलाउने कुरालाई चीनले उच्च महत्त्व दिएको देखिएको छ । चिनियाँ राजदूत मंगलवार साँझदेखि नै कोदारीमा आएर बसेकी थिइन् भने नाका पुनː सञ्चालनबारे समाचार संकलनका लागि दर्जनौं चिनियाँ पत्रकार आइपुगेका छन् ।
नाका सञ्चालनमा आए पनि तत्कालका लागि मालबाहक ट्रकमात्र आवात–जावत हुनेछन् । मानिसहरुलाई आवत–जावत गर्न भने तत्काल दिइने छैन । २०७२ को भूकम्पले ध्वस्त सो क्षेत्रमा अझै पनि जोखिम नटरेकाले मानिसहरुको आवात जावतमा तत्कालका लागि रोक लगाइने चिनियाँ अधिकारीहरुको भनाइ छ । भूकम्प अघिसम्म नेपालीहरु नेपाल–चीन मितेरी पुल पार गरेर चिनियाँ बजारसम्मै पुगेर सामानहरु किन्न पाउँथे ।
चीनबाट सामान बोकेर आउने ट्रकहरु नाकाभन्दा झण्डै ७ किलोमिटर वर लार्चामा निर्माण गरिएको सुक्खा बन्दरगाहमा खोलिने छन् । र, त्यहीँबाट व्यापारीहरुले आफ्ना सामान अन्यत्र ढुवानी गर्नेछन् ।
भूकम्पले क्षति पुर्याएको तातोपानी क्षेत्रमा २०७३ साउनमा भोटेकोशी नदीले सडक लगायत संरचनामा थप क्षति पुर्याएपछि नाका सञ्चालन हुन सकेको थिएन । व्यापारिक दृष्टिकोणले नेपाल चीनलाई जोड्ने पहिलो र प्रमुख नाकाको रुपमा परिचित यो नाका बन्द भएपछि विकल्पका रूपमा रसुवा नाका खोलिएको हो ।
केही वर्षअघिसम्म यो नाका नेपालमा मालवस्तु भित्र्ने दोस्रो नाकाको रुपमा थियो । चीनसँग वार्षिक २० अर्बभन्दा बढीको आयात र करिब तीन अर्ब रुपैयाँको निर्यात हुने गरेको छ । यस नाकाबाट सामान्य समयमा दैनिक एक सयभन्दा बढी र चाडपर्वमा एक हजारको संख्यामा सामान बोकेर कन्टेनर नेपाल भित्रने गरेका थिए । सरकारको लामो प्रयत्नपछि चिनिया नाका मन्त्री यादवले बताए ।
यो नाका बन्द भएपछि चीनबाट आयातित सामग्री सस्तोमा उपभोग गर्दै आएका नेपालीले मह्गो मूल्य चुकाउनु परेको थियो । स्थानीय व्यवसायी, राजनीतिक दल, जनप्रतिनिधि एवम् नेपाल सरकारको सर्वपक्षीय प्रयत्नपछि चिनियाँ पक्ष नाका पुनː संचालनमा ल्याउन सहमत भएको हो ।
तातोपानी नाका पुनː सचालनमा ल्याउन चीन सरकारले ६अर्ब अनुदानमा लार्चामा सुक्खा बन्दरगाह निर्माण गरेको छ । साढे चार हेक्टर क्षेत्रफलमा फैलिएको बहुउपयोगी बन्दरगाह नेपाल–चीन सीमाको मितेरी पुलभन्दा साढे ६ किलोमिटर तल पर्छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको नेपाल इन्टरमोडल यातायात विकास समितिको सहकार्यमा सुक्खा बन्दरगाह निर्माण गरेको छ ।
बन्दरगाहमा भन्सार कार्यालय, क्वारेन्टाइन चेक पोस्ट, बैंकको शाखा, गोदाम, जाँच पास, कर्मचारीको आवास क्षेत्र, दुई सयको संख्यामा कन्टेनर र ठूला ट्रक राख्न मिल्ने पार्किङ क्षेत्रको व्यवस्था गरिएको समितिका कार्यकारी निर्देशक नवराज ढकालले बताए ।
२०७० पुस ५ गतेदेखि निर्माण सुरु भएको यो बन्दरगाहको ८० प्रतिशत काम सम्पन्न भएकोमा विनाशकारी भूकम्प र भोटेकोसीको बाढी र पहिरोका कारण क्षतिग्रस्त बनेको थियो । बन्दरगाहको पुनर्निर्माण चीन सरकारले २०७५ वैशाख ७ देखि थालेको हो । मितेरी पुल अहिले थप १२ मिटर चौंडा र अत्याधुनिक रूपमा भइसकेको छ ।
चीनका विभिन्न सहरबाट नेपालको तातोपानी नाकाबाट सामान आयात गर्न करिब २० दिन लाग्छ । रसुवा नाकाबाट ल्याउँदा करिब दुई महिना लाग्दै आएको छ । चीन सरकारले चीनबाट ३२ चक्के आफ्नै कन्टेनरमा सामान राखेर लार्चाको बन्दरगाहसम्म पुर्याउने तयारी गरेको छ । पहाडी भू–धरातलका कारण यो काम अत्यन्त जोखिमपूर्ण हो ।
औपचारिक रुपमा व्यवसाय सञ्चालनमा आएसँगै भन्सार, अध्यागमन लगायत सम्बन्धित कार्यालयका कर्मचारी तातोपानी पुगिसकेका छन् । आगामी दशैंसम्म नेपाली व्यापारीहरूले तातोपानी नाकाबाट सामान ल्याउन पाउने भएका छन् ।