सरकारको खर्च गर्ने क्षमतामा सुधार तर भुक्तानीमा भने समस्या |
काठमाडौं । पछिल्ला केही वर्षहरुमा सरकारको पूँजीगत खर्च गर्ने क्षमतामा क्रमिक सुधार हुँदै गएको देखिएको छ । सरकारले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षणले सरकारको खर्च गर्ने क्षमता बढेको देखाएको छ । तर पूँजीगत खर्चको भुक्तानीमा भने सुधार हुन सकेको छैन ।
आर्थिक सर्वेक्षण अनुसार आर्थिक वर्ष ०७२∕०७३ पछिका वर्षमहरुमा सरकारको पूँजीगत खर्च गर्ने क्षमतामा क्रमिक सुधार हुँदै आएको छ ।
आर्थिक वर्ष ०७३∕०७४ मा विनीयोजित पूँजीगत बजेटमा पूँजीगत खर्चको अंश ६६।९ प्रतिशत रहेकोमा त्यो क्रमश बढेर आर्थिक वर्ष ०७४∕०७५ मा ८०.८ प्रतिशत पुगेको छ ।
सरकारले आर्थिक वर्ष ०७३∕०७४ मा कुल विनियोजित बजेटको २९.७ प्रतिशत पूँजीगत बजेट छुट्टाएकोमा आर्थिक वर्ष ०७४∕०७५ विनियोजित बजेटको २६.२ प्रतिशत पूँजीगत बजेट रहेको थियो ।
तर, सरकारको खर्च गर्ने अनुपातमा सुधार भएपनि पूँजीगत खर्चको भुक्तानी गर्ने प्रवृतिमा भने सुधार भएको देखिदैन । पछिल्ला वर्षहरुमा आर्थिक वर्षको अन्तिम दुई महिनामा मात्रै कुल पूँजीगत खर्चको औसतमा ५० प्रतिशत भन्दा बढी रकम भुक्तानी भएको देखिएको छ ।
आर्थिक वर्ष ०७५∕०७६ को फागुन महिनासम्मको भुक्तानी प्रवृति हेर्दा दोस्रो चौमासिकमा मात्र दुई तिहाई भन्दा बढी रकम भुक्तानी भएको पाइएको छ । संशोधित पूँजीगत खर्चको लक्ष्यको आधारमा हेर्दा चालु आर्थिक वर्षको तेस्रो चौमासिकमा मात्र ६० प्रतिशत भन्दा बढी रकम भुक्तानी हुने देखिएको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।