सुपर माछा खोला जलविद्युत् आयोजनामा राष्ट्रिय वाणिज्य बैंकले ६७ करोड ४६ लाख लगानी गर्ने
काठमाडौँ । गोरखा जिल्लाको धार्चे गाउँपालिका–४ लाप्राकमा निर्माण हुने ४.६ मेगावाट क्षमताको सुपर माछा खोला जलविद्युत् आयोजनालाई राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लगानी गर्ने गरी ऋण सम्झौता भएको छ ।
उक्त आयोजनामा लगानी सम्बन्धी सम्झौतामा बिहीबार बुढीगण्डकी हाइड्रोपावर प्रालिको तर्फबाट अध्यक्ष खगेन्द्र न्यौपाने र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले हस्ताक्षर गरेका हुन् । कुल ९६ करोड ३८ लाख ३० हजार रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपूँजी लगानी हुनेछ ।
प्रबर्दक कम्पनीका अनुसार ऋण लगानीतर्फ राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ६७ करोड ४६ लाख ८० हजार रुपैयाँ लगानी गर्नेछ भने बाँकी २८ करोड ९१ लाख ५० हजार रुपैयाँ स्वपूँजी लगानी हुनेछ । आयोजनाबाट वार्षिक २७.३७९ गिगावाट आवर विद्युत् उत्पादन हुनेछ । वर्षामा १८.६२१ गिगावाट आवर र हिउँदमा ८.७५ गिगावाट आवर बिजुली उत्पादन हुनेछ ।
कम्पनीका अध्यक्ष खगेन्द्र न्यौपाने, प्रबन्ध निर्देशक कृष्णप्रसाद घिमिरे, निर्देशक सरोज धिताल, जोन घले, ईन्द्र बहादुर ढकाल, र बिनोद थापासहितको अनुभवी समूहले आयोजना निर्माण गर्न लागेका हुन् ।
यो समूहले यसअघि सोही क्षेत्रमा नै तोकिएको अवधिभन्दा ६ महिना अघि ४।५५ मेगावाट क्षमताको विकास हाइड्रोपावर जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याईसकेको छ साथै कम्पनिको प्राथमिक शेयर निष्काशन ९आईपीओ० ६ महिनाभित्रमा जारी हुने प्रक्रियामा समेत रहेको छ ।
हाईड्रोपावरमा अनुभव बटुलिसकेका यो समूहले यस बुढीगण्डकी हाईड्रोपावर आगामी १८ महिना भित्र सञ्चालनमा ल्याउने जनाएको छ । आयोजनाको नेपाल विद्युत् प्राधिकरणसँग २०८० असार २१ मा विद्युत् खरिद बिक्री सम्बन्धी सम्झौता ९पीपीए० भएको थियो । साथै आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिसकेको कम्पनीले जनाएको छ ।
आयोजनाको प्रसारण लाइनलाई विकास हाइड्रोपावरमा स्विचिङ गरी धादिङको सल्यानटार सब–स्टेसनमा जोडिने छ । आयोजनाले अबको ६ महिनामा नै कम्पनीलाई पव्लिक लिमिटेड गरी प्राथमिक शेयर (आईपीओ) मा गई छिट्टै सर्वसाधारणको लागि शेयर जारी गर्ने तयारी समेत गरेको जनाइएको छ ।
यसअघि निर्माण सम्पन्न गरी सफलतापूर्वक विकास हाईड्रोलाई राष्ट्रिय प्रशारण लाईनमा जोड्न सफल भएको टिम र टिममा अध्यक्ष रहेका एनआरएनए आईसीसी उपाध्यक्ष खगेन्द्र न्यौपानेको टिमले सफल हाइड्रो डेप्लपर्सको रूपमा समेत ख्याति कमाइसकेका छन् ।
आयोजनालाई सफलतापूर्वक सम्पन्न गर्न र यसै वर्ष शुरू गर्ने गरी थप २४ मेगावाट क्षमताको साङ्ग्रिला हाईड्रोपावर बनाउने कम्पनीले जनाएको हाइड्रोपावारका प्रबन्ध निर्देशक कृष्ण प्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
कार्यक्रममा रास्ट्रीय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले यो टिमले बिकास हाइड्रोपावर समयमै निर्माण गरेर मन जितेकाले आफूहरुले अर्को प्रोजेक्टमा पनि लगानी गरेको बताए ।
विकास हाइड्रोको सफलतापछि बुढिगण्डकी हाईड्रोपावर र साङ्ग्रिला हाइड्रोपावर शुरु गरेको यो टिमले समयमानै हाइड्रो सम्पन्न गर्ने बताएको छ ।
गोरखा जिल्लाको धार्चे गाउपालिकामा निर्माण शुरु गरिएको यस आयोजनाको नेतृत्व गैर आवासीय नेपाली संघ एनआरएनए आईसिसिका उपाध्यक्ष एबं सफल ब्यवसायी खगेन्द्र न्यौपानेले गरेका छन् । यही टिमले यसअघि सोही क्षेत्रमा विकास हाइड्रोपावरको विद्युत प्राधिकरणले दिएको समयभन्दा पहिला नै सफलतापूर्वक सम्पन्न गरिसकेको छ ।
विकास हाइड्रो पावरलाई सफलतापूर्वक सम्पन्न गरेपछि देश विकासमा सानो भने पनि थप योगदान गर्न सुपर माछाखोला जलविधुत आयोजना ४.६ मेघावाट र साङ्ग्रिला हाइड्रोपावर २४ मेघावाट शुरु गरेको अध्यक्ष खगेन्द्र न्यौपानेले बताए ।
मलेसियाका अत्यन्तै सफल व्यवसायी न्यौपानेले देश विकासको महत्वपूर्ण आधार जलस्रोत, जंगल र जमीन नै भएको जनाउँदै गैरआवासीय नेपालीको पनि देश विकासमा ठूलो योगदान रहेको बताए ।
उनले आफूले अघिल्लो विकास हाइड्रोजस्तै अन्य २ हाइड्रोलाई पनि समयसीमा भन्दा पहिले नै सम्पन्न गरेर लगानीकर्ताहरुको मन जित्ने बताए ।
यस्तै अर्का संचालक कृष्ण घिमिरेले विकास हाइड्रोलाई जस्तै अन्य प्रोजेक्टलाई माया गरिदिन सबैलाई आग्रह गरे । घिमिरेले आफूहरुले छिट्टै थप अन्य हाइड्रो पनि निर्माण गर्ने बताए ।
यस आयोजना बनाउन देश विदेशमा रहेका नेपाली र एनआरएनएले साथ दिएको र चुस्त टिम भएकै कारण समयमा हाइड्रो सम्पन गरिने न्यौपानेले बताए ।
उनले अहिलेसम्म आफूहरुले साना आयोजनामा मात्र लगानी गरिरहेकोमा अब निकट भविष्यमा २५ मेघावाट भन्दा माथि ५०–१०० मेघावाटको आयोजना बनाउने गरि तयारी गरेको बताए ।
जलविद्युत नै नेपालको भविष्य भएकाले यसमा क्रान्ति नै गर्नुपर्छ भन्ने सोचका साथ अगाडि बढेको न्यौपानेले बताए । उनले हाइड्रोपावर टिममा म्यानेजमेन्ट टिम नै प्रमुख हुने रहेको उल्लेख गर्दै भने, ‘त्यस्तो टिमवर्क हामीमा छ त्यसैले हामी सफल भएका छौँ ।’