भृकुटीमण्डपमा सुरू भयाे ‘क्यान इन्फोटेक २०२५’ (फोटो फिचर)
![Clipboard03 Clipboard03](https://www.arthikpati.com/wp-content/uploads/2025/02/Clipboard03-3-993x526.jpg)
काठमाडाैं । कम्प्युटर एशोसिएशन नेपाल (क्यान)काे आयाेजनामा यो वर्षकाे ‘क्यान इन्फोटेक २०२५’ आजबाट सुरू भएको छ ।
सूचना तथा संचार प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक निती, रणनीति तथा कानूनी संरचना निर्माणका निम्ति सार्थक अन्तरक्रिया गर्ने उद्देश्यले ३०औं संस्करणको इन्फोटेक सुरु भएको हो।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङ उपस्थित थिए, मेलाको सुरुवात डिजिटल दीयो बालेर गरिएकाे थियाे ।
क्यानका अध्यक्ष सुनैना घिमिरे पाण्डेको अध्यक्षतामा सुरु भएको कार्यक्रममा क्यान महासङ्घका पदाधिकारी, विद्यार्थीहरू, सूचना तथा प्रविधिमा आवद्ध व्यक्तित्वहरुको उपस्थिती रहेको छ ।
क्यान इन्फोटेक ५ दिन अर्थात् २८ गतेसम्म चल्नेछ । यसको शिर्ष प्रायोजन एचएमसी हिक्सेमी र सह– प्रायोजन मर्कन्टाइल अफिस सिस्टमले गरेका छन् ।
क्यान इन्फोटेकले सूचना तथा सञ्चार प्रविधि क्षेत्रका कम्पनीहरुलाई आफ्नो बजार विस्तार गर्ने, ग्राहकका आवश्यकता थाहा पाउने, बजार सर्वेक्षण गर्ने, नयाँ उत्पादनहरु सार्वजनिक गर्ने र ग्राहकसँग आपसी सम्बन्ध स्थापना गर्ने अभूतपूर्व अवसर दिनेछ । इन्फोटेक अवधिभर सूचना प्रविधि सम्बन्धी अन्तर्क्रियात्मक छलफलका कार्यक्रम हुनेछन् ।
क्यान इन्फोटेकमा ब्राण्डिङ, आईसीटी एक्ससरिज, गेम पार्लर, प्रडक्ट लञ्चिङ, स्टार्ट-अप, रोबोटिक्स, इमर्जिङ्ग टेक्नोलोजी, इ-गभर्नेन्स, सूचना प्रविधिमा महिला उद्यमी, वाईफाई तथा इन्टरनेट र लर्निङ सेन्टर तथा राष्ट्रिय परिचय पत्रको इनरोलमेन्ट समेत भृकुटीमण्डपमै रहने गरी तयार थालिएको छ ।
साथै, इन्फर्मेशन सेक्युरिटी रेस्पोन्स टिम नेपाल (एनपीसर्ट) ले साइबर सुरक्षा सहायता डेस्क सञ्चालन गर्दैछ, जसले साइबर सुरक्षा समस्यामा सहजीकरण गर्नेछ । क्यान इन्फोटेकमा एक नवीनतम STEM शिक्षण उपकरणका रूपमा अटो सेल्फ ड्राइभिङ कार प्रदर्शनी गरिनेछ, जसले अवलोकनकर्तालाई स्वचालित सवारी प्रणाली, आर्टिफिसियल इन्टेलिजेन्स, सेन्सर टेक्नोलोजी र प्रोग्रामिङ जस्ता अत्याधुनिक विषयहरू बुझाउन मद्दत गर्नेछ । त्यस्तै DataBot Personal Assistant AI ले विद्यार्थीहरूलाई डेटा साइन्स, सेन्सर टेक्नोलोजी, आर्टिफिसियल इन्टेलिजेन्स, रोबोटिक्स जस्ता विषयहरू व्यवहारिक रूपमा सिक्न मद्दत गर्नेछ । LEGO Education Kit एक व्यवहारिक शिक्षण उपकरण हो, जसले विद्यार्थीहरूलाई इन्जिनियरिङ, प्रोग्रामिङ, रोबोटिक्स र समस्या समाधान क्षमतामा सुधार गर्न मद्दत गर्नेछ । यसका साथै विद्यार्थीहरूले तयार पारेका एआई र सफ्टवेयरका प्रोजेक्टहरू प्रदर्शनीमा राखिनेछ ।
क्यान इन्फोटेक २०२५ का मा करिब १५० स्टल रहनेछन् । यसमध्ये ९० प्रतिशत अर्थात् १२० बढी स्टल बुकिङ भइसकेको छ । यस संस्करणको इन्फोटेक मेलालाई करिब साढे ३ लाखले अवलोकन गर्ने अपेक्षा छ ।
राजधानीमा माघ २४ देखि ५ दिनसम्म चल्ने इन्फोटेकको प्रादेशिक तथा जिल्ला संस्करणको रुपमा बाँकेमा माघ १० देखि २२ सम्म चलिरहेको छ भने कास्कीमा माघ १० देखि १६ सम्म आयोजना गरिएको थियो । त्यस्तै बर्दियामा मिनी क्यान इन्फोटेक समेत यही माघ ११ देखि २४ सम्म भईरहेको छ भने अन्य शाखाहरुमा पनि छिट्टै गर्नेगरी तयारी हुँदैछ ।
नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रको ठूलो उत्सवका रुपमा परिचित क्यान इन्फोटेकलाई भव्यताका साथ आयोजना गर्न नेपाल सरकार र मातहतका निकायहरु, सूचना प्रविधि व्यवसायी, नीति निर्माता एवं विज्ञ समूह, शिक्षण संस्था, सञ्चारकर्मी एवं प्रविधिप्रेमी सर्वसाधारणलाई क्यान महासंघले विशेष अनुरोध गरेको छ ।