असारदेखि कुलेखानी तेस्रोबाट विद्युत उत्पादन |
हेटौंडा । कुलेखानी तेस्रो जलविद्युत आयोजनाले असार मसान्तबाट उत्पादन शुरु गर्ने भएको छ । नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले असार मसान्तबाट कुलेखानी तेस्रोबाट उत्पादन शुरु हुने बताए । यसअघि पुस महिनामा परीक्षण उत्पादन गर्ने भनिएको थियो । निर्माण कम्पनीको ढिलाइले तोकिएको समयमा परीक्षण उत्पादन नभएको हो ।
प्राधिकरणको आयोजनाहरुको निरीक्षणको क्रममा हेटौंडा आएका कार्यकारी निर्देशक घिसिङले कुलेखानी तेस्रोको १०÷१५ दिनमा उत्पादन परीक्षण शुरु गर्ने बताए । चिनिया कम्पनीको ढिलासुस्तीले तोकेभन्दा ढिला काम भएको आयोजनाको काम अन्तिम चरणमा पुगेको जानकारी दिए । कुलेखानी ३ जलविद्युत् आयोजनाको विद्युतगृहमा जडान गरिएका उपकरणहरूको परीक्षण थालिएको छ ।
सिभिलसँगै मुख्य सुरुङ र पेनेस्टक पाइपको परीक्षण भइसकेको छ । दुई सातायता भने उपकरणहरूको परीक्षण भइरहेको हो । तीनवटा टावर निर्माण गर्नुपर्नेमा दुईवटा सम्पन्न भइसकेका छन् भने साताभित्रै अर्कोको पनि काम सकिने आयोजनाले जनाएको छ । साना–ठूला गरी विद्युत्गृहमा ५ सय ६० वटा उपकरण छन् । परीक्षण कार्यमा चिनियाँ निर्माण कम्पनीका चारजना प्राविधिक खटिएका छन् ।
चिनियाँ ठेकेदार कम्पनी जेजियाङ जियालिङको ढिलासुस्तीका कारण ४४ महिनामा सक्नुपर्ने काम करिब सय महिनाभन्दा पछाडि धकेलिएको छ । चिनिया कम्पनीले विभिन्न वाहाना बनाएर ढिलासुस्ती गरेकाले समयमा निर्माण कार्य सम्पन्न नभएको होे । २ अर्व ४३ करोडमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ ११ वर्षअघि निर्माण कार्य शुरु गरेको उक्त आयोजनाको लागत वृद्धि भएर अहिले ४ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ ।