मोबाइल आयातबाट उठ्ने राजश्व बढे पनि आयात घट्यो |
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो १० महिनामा मोबाइल सेटको आयात ३५ प्रतिशतले घटेको छ । गत आवको सही अवधिमा ५५ लाख १० हजार मोबाइल सेट भित्रिएको थियो । तर, यो वर्ष त्यो संख्या खुम्चिएर ३५ लाख ८५ हजारमा झरेको भन्सार विभागले जनाएको छ । मोबाइल आयात घट्दा पनि राजश्व भने बढेको छ ।
गत वर्ष यही समीक्षा अवधिमा २१ अर्ब १७ करोड मूल्य बराबरको मोबाइल नेपाल भित्रिएको थियो । यो वर्ष १६ अर्ब ४ करोडको मात्रै मोबाइल आयात भएको छ ।
गत वर्ष सुरुको १० महिनामा मोबाइलबाट २ अर्ब ७५ करोडको भन्सार राजश्व उठाएकोमा यो वर्ष बढेर २ अर्ब ९९ करोड रुपैयाँ उठेको छ । मोबाइल आयात ३५ प्रतिशतले घटेको अवस्थामा पनि भन्सार राजश्व ९० प्रतिशतले बढेको देखिन्छ ।
यसको मुख्य कारण मोबाइलमा दिइने मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ताको प्रावधान हटाउनु हो । गत वर्षसम्म मोबाइल आयात गर्दा लाग्ने भ्याटको ४० प्रतिशत राजश्व पुनː व्यापारीले नै फिर्ता पाउँथे । तर, बजेट भाषणमार्फत अर्थमन्त्री युवराज खतिवडाले सो सुविधा कटाएर थप ५ प्रतिशत अन्तशुल्क तिर्नुपर्ने प्रवन्ध गरे ।
भ्याट फिर्ता सुविधा नपाउने भएपछि नेपालमा विक्रीका लागि मात्रै मोबाइल भित्रिन थालेको राजश्व अधिकारीहरु बताउँछन् । ब्यापारीहरु भने यो दाबी स्वीकार्दैनन् । मोबाइल महंगो भएका कारण उपभोक्ताले किन्ने क्रम घटेको दाबी उनीहरुको छ ।
सरकारले अवैध रुपमा भित्रिएका मोबाइललाई निस्क्रिय गर्न सकिने गरी डिभाइस म्यानजमेन्ट सिस्टम जडान गर्न खोजेको दुई वर्ष बढी भएको छ । तर, अझै पनि काम भएको छैन । यसले गर्दा मोबाइलको अवैध आयात बढेको दाबी ब्यापारीहरुको छ । सरकार भने पछिल्लो समयमा त्यस्तो अवैध आयात रोकिएर बजारमा वैध मोबाइल विक्री बढेको दाबी गर्छ ।