व्यापार घाटा ४.४ प्रतिशतले बढ्यो, ६ महिनाको घाटा ७ खर्ब २३ अर्ब
काठमाडौं । चालु आर्थिक वर्ष २०८१-८२ को ६ महिनामा कुल वस्तु निर्यात ३१.८ प्रतिशतले वृद्धि भई ९८ अर्ब ७९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ७.२ प्रतिशतले कमी आएको थियो । निर्यात बढेपनि ६ महिनामा कुल वस्तु व्यापार घाटा ४.४ प्रतिशतले वृद्धि भई ७ खर्ब २३ अर्ब ५८ करोड पुगेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ४६.१ प्रतिशत, १९.७ प्रतिशत र १.० प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा सोयाविन तेल, चिया, पोलिस्टर यार्न तथा थे्रड, पार्टिकल बोर्ड, अलैंची लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, जिंक शिट, अदुवा, तयारी पोशाक, जडीबुटी लगायतका वस्तुको निर्यात घटेको छ ।
आर्थिक वर्ष २०८१-८२ को ६ महिनामा कुल वस्तु आयात ७.१ प्रतिशतले वृद्धि भई ८ खर्ब २२ अर्ब ३७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा ३.१ प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः ५.९ प्रतिशत, ८.९ प्रतिशत र ९.० प्रतिशतले वृद्धि भएको छ ।
वस्तुगत आधारमा कच्चा भटमास तेल, चामल, धान, यातायात उपकरण, सवारी साधन तथा अन्य सवारी साधनका स्पेयर पार्टस्, स्पन्ज आइरन, खाने तेल लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, कच्चा पाम तेल, सुन, रासायनिक मल, केराउ लगायतका वस्तुको आयात घटेको छ ।
निर्यातततर्फ भैरहवा, विराटनगर, वीरगंज, सुख्खा बन्दरगाह, कैलाली, कृष्णनगर, मेची, नेपालगञ्ज र रसुवा भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्फ सुख्खा बन्दरगाहबाहेक भैरहवा, विराटनगर, वीरगंज, जलेश्वर, कैलाली, कञ्चनपुर, कृष्णनगर, मेची, नेपालगञ्ज, रसुवा, तातोपानी, त्रिभुवन विमानस्थल भन्सार कार्यालय लगायतका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा वृद्धि भएको छ ।
आर्थिक वर्ष २०८१-८२ को ६ महिनामा कुल वस्तु व्यापार घाटा ४.४ प्रतिशतले वृद्धि भई ७ खर्ब २३ अर्ब ५८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा २.६ प्रतिशतले कमी आएको थियो । समीक्षा अवधिमा निर्यात– आयात अनुपात १२.० प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.८ प्रतिशत रहेको थियो ।
समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी ८८ अर्ब ५६ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु.७६ अर्ब २५ करोड बराबरको भएको थियो ।
वृहत् आर्थिक वर्गीकरण अनुसार समीक्षा अवधिमा भएको कुल निर्यातमा मध्यवर्ती तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ४०.४ प्रतिशत र ५८.८ प्रतिशत रहेको छ भने पुँजीगत वस्तुको अनुपात ०.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भएको कुल निर्यातमा मध्यवर्ती, पुँजीगत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ५५.९ प्रतिशत, ०.२३ प्रतिशत र ४३.९ प्रतिशत रहेको थियो ।
समीक्षा अवधिमा भएको कुल आयातमा मध्यवर्ती वस्तुको अनुपात ५०.२ प्रतिशत, पुँजीगत वस्तुको अनुपात ८.८ प्रतिशत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात ४१.० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी अनुपातहरु क्रमशः ४९.२ प्रतिशत, ८.७ प्रतिशत र ४२.१ प्रतिशत रहेका थिए ।
वार्षिक विन्दुगत आधारमा २०८१ पुस महिनामा भन्सार तथ्यांकमा आधारित निर्यातको एकाइ मूल्य सूचकांकमा १.० प्रतिशतले र आयात मूल्य सूचकांकमा ०.७ प्रतिशतले कमी आएको छ । २०८१ पुस महिनामा व्यापारको शर्तमा ०.४ प्रतिशतले कमी आएको छ ।