पेट्रोलियम पदार्थको मूल्य बढ्यो, एलपी ग्यासको भने यथावत
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार राति १२ बजेपछि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ तथा हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर ६ रुपैयाँका दरले वृद्धि गरेको हो ।
निगमका अनुसार हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंकालागि प्रति किलोलिटर अमेरिकी डलर ४३ का दरले बढाइएको छ । त्यस्तै पोखरा र भैरहवाकालागि ब्रेक इभन पोइन्टमा बिक्री मूल्य कायम गरिएको निगमले जनाएको छ । खाना पकाउने एलपी ग्यासको मूल्य हाललाई यथावत् राखिएको छ ।
भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूची अनुसार इन्धनको मूल्य बढेको जनाउँदै निगमले फेरि मूल्य बढाएको हो । यसअघि निगमले माघ २ गते राति १२ बजेपछि बाट लागू हुनेगरी पेट्रोलमा २ रुपैयाँ र डिजेल र मट्टितेलमा ३-३ रुपैयाँ बढाएको थियो ।
मूल्य समायोजनसँगै पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १६४.५०, दोस्रो वर्गमा १६६ र तेस्रो वर्गमा १६७ तथा डिजेल र मट्टितेल पहिलो वर्गमा १५७.५०, दोस्रो वर्गमा १५९ र तेस्रो वर्गमा १६० रुपैयाँ कायम भएको छ ।
निगमले पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलवासी, नेपालगन्ज, धनगढी र वीरगन्ज, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलस्थित डिपोलाई वर्गीकरण गरेको छ ।