आकर्षक बाथरूमका लागि इण्टेरियर डिजाइन |
मानिसहरू भविष्यमा बन्ने आफ्नो घरका विषयमा विभिन्न कल्पना गर्ने गर्छन्– मेरो घर सुन्दर होस्, सुविधायुक्त होस् वा यस्तै अरू । आफ्नो घर अरूको भन्दा फरक र आकर्षक बनाउन पछिल्लो समयमा मानिसले आर्किटेक्ट तथा इण्टेरियर डिजाइनरको प्रयोग गर्न थालेका छन् । विगतमा घर निर्माण गर्दा लाखौं खर्च गरिने भए पनि बाथरूम निर्माणमा भने इण्टेरियर डिजाइनरको प्रयोग न्यून मात्रामा हुने गरेको थियो । तर, पछिल्लो समयमा बाथरूम निर्माणमा पनि इण्टेरियर डिजाइनरको प्रयोग बढ्न थालेको इण्टेरियर डिजाइनर्स एशोसिएशन अफ नेपालका अध्यक्ष सानुराजा शिल्पकार बताउँछन् ।
पहिले मानिसहरू घर सजावटमा मात्र विशेष ध्यान दिन्थे । तर, अहिले बाथरूमको आकर्षक संरचनालाई पनि महŒव दिन थालेका छन् । बाथरूमले मान्छेको स्तर निर्धारण हुने सोचको विकास भएकाले पनि बाथरूमका लागि सजावट तथा ब्राण्डेड सामग्रीको प्रयोग बढ्दो क्रममा छ । बाथरूम निर्माणमा उपयुक्त ठाउँ तथा सामानको प्रयोग हुनुपर्छ भन्ने मान्यतासमेत विकसित हँुदै गएको अध्यक्ष शिल्पकारको भनाइ छ । उनका अनुसार धरैले शुरूमा प्लम्बर वा विक्रेताको भनाइअनुसार नै बाथरूम निर्माण गर्छन् र पछि इण्टेरियर डिजाइनरसँग सल्लाह माग्छन् । ‘घर निर्माणमा प्रयोग हुने सामान गलत ठाउँमा प्रयोग भए, यसले नराम्रो असर पार्छ र पैसासमेत बर्वाद हुन्छ । तर, इण्टेरियर डिजाइनरमार्फत वास्तुशास्त्रअनुसार घरको डिजाइन भएमा त्यसले मानिसको दैनिक जीवनमा समेत सकारात्मक प्रभाव पार्छ,’ उनले भने । नेपालमा बाथरूमका सामानमा विविधता पाउन थालेको धेरै समय भएको छैन । त्यस्ता सामान पाइए पनि पर्याप्त नभएकाले उपलब्ध सामानमा सीमित भएर डिजाइन गर्नुपर्ने बाध्यता रहेको इण्टेरियर डिजाइनर विन्दा श्रेण्ठले बताइन् ।
अहिले ट्वाइलेट बाथरूम वा रेष्टरूममा परिवर्तन हुँदै आएको छ । ठूला होटल तथा रेष्टुराँहरूमा ‘रेष्टरूम’ लेखिएको पाइन्छ । सामान्यतया शौच तथा स्नानका लागि प्रयोग हुने बाथरूम रेष्टरूममा परिवर्तन हँुदै छ । समाज आधुनिक र व्यस्त बन्दै गएकाले मानिसले अखबार पढ्ने, सेभिङ गर्नेलगायत कामका लागि बाथरूमको प्रयोगलाई बढावा दिन थालेका छन् । त्यसैले, यसलाई कोठाजस्तै सजाउनसमेत थालिएको पाइन्छ । बाथरूममा थरीथरीका टब, ज्याकुजी, सावर, फब्बारा, साबुन राख्ने केस, रुमाल झुण्ड्याउने ठाउँ, कपडा राख्न कपबोर्डका साथै ड्रेसिङ स्पेसको पनि व्यवस्था गर्ने ग्राहकको सङ्ख्या बढ्दै गएको व्यवसायी बताउँछन् । बाथरूम ठूलो छ भने कृत्रिम फूल वा ताजा सुगन्धित फूलको प्रयोग गर्न सकिने इण्टेरियर डिजाइनरहरू बताउँछन् ।
आर्किटेक्ट वा इण्टेरियर डिजाइनरको सहायताले बाथरूमलाई व्यवस्थित र आकर्षक बनाउन सकिन्छ । रङको उपयुक्त संयोजन, सजावट बत्ती र पेण्टिङ आदिले बाथरूमको भित्री भाग सजाउन सकिने इण्टेरियर डिजाइनर श्रेण्ठले बताइन् । महँगा र धेरै सामानको प्रयोगले भन्दा पनि आन्तरिक सजावटले बढी सुन्दरता थप्न सकिने र उपयुक्त ठाउँमा उचित सामानको प्रयोगले बाथरूम आकर्षक बनाउन सकिने उनको भनाइ छ ।
विक्रेताका अनुसार अहिले बाथरूममा प्रयोग गरिने रङको छनोटमा विविधता थपिएको छ । अहिले बजारमा बाथरूमका लागि सेतो, लाइट ब्राउन, ग्रे, लाइट ब्लू, पिच, ग्रीनआदि आकर्षक रङको माग हुन थालेको छ । इण्टेरियर डिजाइनरका अनुसार बाथरूममा प्रयोग गरिएको टायलको रङ त्यहाँ प्रयोग गरिएको सामानको रङसँग मिल्दो हुनुपर्छ । अहिले बाथरूममा रङ संयोजनका लागि आवश्यक परामर्श दिने इण्टेरियर डिजाइनरको सङ्ख्या बढ्दै गएको छ । इण्टेरियर डिजाइनरहरूका अनुसार ठूला अपार्टमेण्ट, हाउजिङ तथा होटलहरूमा बाथरूम निर्माण इण्टेरियर डिजाइनरको सल्लाहअनुसार हुने गरेको छ । तर, व्यक्तिगत घरको बाथरूम निर्माणमा भने इण्टेरियर डिजाइनरको प्रयोग कमैमात्र हुने गरेको बताइन्छ । श्रेष्ठका अनुसार ५ देखि १० प्रतिशत व्यक्तिले मात्र घर बनाउँदा इण्टेरियर डिजाइनरको सल्लाहमा बाथरूम निर्माण गर्छन् ।
हाल बाथरूमका सामान विक्री गर्ने शोरूमहरूमा विभन्न रङ तथा डिजाइनका सामानलाई आकर्षक रूपमा राखिएको देखिन्छ । कतिपय शोरूममा त नमूनाका लागि एक प्रकारले अस्थायी बाथरूमसमेत बनाइएको हुन्छ । सजाएर राखिएको सामानप्रति ग्राहक आकर्षित हुने भएकाले त्यसो गरिएको मैनाली बिजनेश कन्सर्नका प्रबन्ध निर्देशक कोमल मैनाली बताउँछन् । कतिपय व्यक्तिले त्यस्तै नमूनाका आधारमा आप्mनो बाथरूम निर्माण गर्ने गरेको उनको अनुभव छ ।