सेयर खरिदबिक्रीको पैसा खाताबाटै राफसाफ हुने, ५० वटा बैंक अनलाइन प्रणालीमा जोडिए |
काठमाडौं । अब सेयर किनबेच गरे पछि राफसाफका लागि चेक बोकेर ब्रोकर कार्यालय जान नपर्ने भएको छ । ‘बैंक इन्टिग्रेसन’ शुरु भएसँगै लगानीकर्ता चेक बोकेर ब्रोकर कम्पनी जानु नपर्ने भएको हो । बिहीबारदेखि नेप्सेको अनलाइन ट्रेडिङ सिस्टम (नट्स) प्रणालीमा ५० भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरु आवद्व भएका छन् ।
नेपाल क्लियरिङ हाउस र ब्रोकर कम्पनीहरुको आपसी पहलमा उक्त ‘बैंक इन्टिग्रेसन’ सञ्चालनमा आएको छ । बिहीबारको कारोबारपछि ५० भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरु अनलाइन कारोबार प्रणालीमा जोडिएका छन् ।
अब आइतबारदेखि सेयर खरिदविक्रीपछि लगानीकर्ताको खाताबाटै राफसाफ हुने ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाटले जानकारी दिए ।। तर उक्त सुविधा लिनका लागि लगानीकर्ताले आफ्नो खाता भएको बैंकमा गएर ‘बैंक इन्टिग्रेसन’ मा आवद्ध गराउनु पर्छ ।
नेप्सेले कात्तिक २० गतेदेखि थालिएको अनलाइन प्रणालीमा यस अघि हाल सञ्चालनमा रहेका ४ वटा क्लियरिङ बैंक मात्र आवद्ध थिए । सेयर राफसाफको काम गर्ने नेपाल इन्भेष्टमेन्ट, ग्लोबल आइएमई, प्रभु र सिद्धार्थ बैंकबाट मात्रै अनलाइन राफसाफ हुन्थ्यो ।
अनलाइन प्रणालीमा ‘बैंक इन्टिग्रेसन’ पछि सेयर कारोबारको राफसाफ गर्दा न्यून शुल्क मात्र लाग्ने रानाभाटले बताए । उनले भने, ‘४ वटा क्लियरिङ बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थाबाट सेयर राफसाफ गर्दा शूल्क लाग्छ । तर क्लियरिङको लागि अत्यन्तै न्यून शुल्क मात्रै लाग्ने हो ।’
नेप्सेले मंसिर २३ गतेदेखि ब्रोकर मार्फत सेयर लगानीकर्तालाई अनलाइनको युजर नेम र पासवर्ड दिन शुरु गरेको थियो । युजर नेम र पासवर्ड लिएका लगानीकर्ताले आफ्नो खाता भएको बैंकमा सम्पर्क गरी खाताबाटै राफासाफ गर्नसक्ने रानाभाटले बताएका छन् ।
६ हजार भन्दा बढी अनलाइन कारोबार प्रणालीमा आवद्व
नेप्सेले सञ्चालनमा ल्याएको अनलाइन कारोबार प्रणालीमा हालसम्म ६ हजार २ सय जना लगानीकर्ता अवद्व भएका छन् । नेप्सेका अनुसार अनलाइन मार्फत हालसम्म ११ अर्ब ३६ करोड ९२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
उक्त कारोबारका लागि १ लाख २८ हजार २३८ खरीदविक्री आदेश भएको नेप्सेले जनाएको छ । यता, सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार हालसम्म १५ लाख २० हजार भन्दा बढी लगानीकर्ताले हितग्राही (डिम्याट) खाता खोलेका छन् । यता, नेप्सेले करीब २ लाख लगानीकर्ता मात्र दोस्रो बजारमा सक्रिय रहेको जनाएको छ ।